Logo
Logo

नबिल एसएसईका फेलोहरूलाई सिएनआईको अवार्ड



काठमाडौं , नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवद्र्धन गर्न सुरु गरेको ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम (नबिल एसएसई)को पहिलो ब्याचका २० जना फेलोहरूले‘इनेएबलर्स अफ सोसियल इन्टरप्रेनरसिप अवार्ड’ प्राप्त गरेका छन् । नेपाल उद्योग परिसंघअन्तर्गतको सिएनआइवाइइएफ नेपालले यो अवार्ड प्रदान गरेको हो ।

सिएनआइवाइइएफ नेपालले काठमाडौंमा आयोजना गरेको सिएनआइवाइइएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० जना सहभागीलाई सामूहिक रूपमा सो अवार्ड प्रदान गरेको जनाइएको छ । ०७८ साल चैत ७ गतेदेखि सुरु गरिएको पहिलो ब्याचको फेलोसिप कार्यक्रमअन्तर्गत देशभरका तीन सय ५० जना आवेदकमध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वविद्यालयमा आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।

फेलोसिप कार्यक्रमका सहभागीले कृषि, सूचना प्रविधि, हस्तकला,खाद्यान्न, कपडा उत्पादन, कफी सप सञ्चालनलगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएको जनाइएको छ ।

हरेक महिना तीन दिन आवासीय सिकाइ र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोसिप तालिम ६ महिनासम्म चल्ने बैंकले जनाएको छ ।

बाँकी ६ महिनाका लागि सबै सहभागीलाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यावहारिक कठिनाइको समाधानका लागि सहयोग गरिने जनाइएको छ । सामाजिक उद्यम विकासका लागि सुरु गरिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्नइनेएबलर्स अफ सोसियल इन्टरप्रेनरसिप अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ ।
सिएनआइवाइइएफ नेपाल स्टार्टअप फेस्ट २०२२ युवाहरूलाई उद्यमशीलता प्रवद्र्धन गर्न आयोजना गरिएकोे बैंकले जनाएको छ । कार्यक्रममा नेपालमा उद्यमशीलता विकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वहरूबाट विभिन्न विषयमा प्रेरणादायी वक्तव्य दिएको जनाइएको छ ।

कार्यक्रममा सातवटा नेपाली स्टार्टअपले व्यवसाय विस्तारका लागि २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेको बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्