काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनपक्षीय काम गर्न नसकेको कांग्रेसका नेता शेखर कोइराला पक्षले निष्कर्ष निकालेको छ ।
शुक्रबार काठमाडौंको बत्तिसपुतलीमा बसेको उक्त समूहको बैठकले सरकारले जनजीविकाका मुद्दालाई सम्बोधन गर्न र जनतालाई राहत दिन नसकेको निष्कर्ष निकालेको हो ।

कांग्रेसले राजनीतिक प्रतिबद्धता जनाएको कुरा पनि कार्यान्वयन नगरेको बैठकपछि कोइराला पक्षीय केन्द्रीय सदस्य गोविन्द पोखरेलले बताए । उनका अनुसार राजश्व अनुसन्धान, सम्पत्ति सुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने काँग्रेसले संस्थागत निर्णय गरेको थियो ।
अहिले पनि उक्त निकाय प्रधानमन्त्री कार्यालय मातहत राखिनु पार्टीको प्रतिबद्धता विपरीत भएको शेखर समूहको ठहर छ । बजेट बनाउने बेला आर्थिक सुशासनको खिल्ली उठाइएको पोखरलेले बताए । उनले भने, ‘बजेट बनाउँदा ब्यापक नीतिगत भ्रष्टाचार गरिएको छ । यसलाई जतिसक्दो रोक्नुपर्छ भन्ने हाम्रो समूहको निष्कर्ष रह्यो ।’
परराष्ट्र नीतिमा सरकार सफल हुन नसकेको भन्दै शेखर समूहले ध्यानाकर्षण गराएको छ । सभापति शेरबहादुर देउवा पार्टीको भन्दा पनि गठबन्धनको सभापति भएर हिँडेको उक्त समूहको आरोप छ । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको पनि सभापति हुँ भन्ने अनुभूति देउवाले दिलाउन नसकेको पोखरेलले बताए ।
४० प्रतिशत मतको पनि सम्मान हुने गरी सभापतिलाई अगाडि बढ्न आग्रह गरेको छ । पोखरेलले भने, ‘हामीले कहिले पनि भागबन्डा मागेका थिएनौँ । तर, हाम्रो गुटमा ४० प्रतिशत मान्छे टिपेर ल्याएको होइन । तल्लो तहदेखि निर्वाचित भएर आएका छन् । त्यसैले उनीहरूको मतको पनि सम्मान गर्नुपर्छ भन्ने धारणा हो ।’











