काठमाडौं । काठमाडौंको बालुवाटारमा हरियो मकै पोलेर बिक्री गर्ने क्रममा काठमाडौं महानगरले गाडा उठाएका दम्पतीलाई कांग्रेस नेता मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन् ।

सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य दम्पतीलाई आइतबार बस्तेतसहित कांग्रेस सिन्धुपाल्चोकका दुई नेताले ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् । महानगरपालिकाले गाडा खोसेपछि भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको थाहा पाएपछि सहयोग गरेको बस्नेतले बताए ।
उनले सवारीसाधानको आवतजावत र सर्वसाधारणको आवातजावतमा समस्या नहुने गरि व्यवसाय गर्न सुझाव दिए ।
त्यस्तै चेतेन्द्र आचार्यले कसैलाई बाधा नपर्ने स्थानमा व्यापार गर्दा आफ्नो गाडा उठाइएको गुनासो गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न लाग्दा महानगरले उनीहरुको गाडा जफत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।











