काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मुलुकमा अब अति भएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतका विषयमा अति भएको बताएका हुन् ।

आफू सरकारमा हुँदा तत्कालीन प्रतिपक्षी कांग्रेसका एक सांसदले भनेको कुरा स्मरण गर्दै ओलीले अहिले चाहिँ अति भएको बताएका हुन् । उनले भने, ‘इनफ भन्दा बढी नै भइसकेपछि मैले यहाँ बोल्न उभिनुपर्यो । अब चाहिँ अति नै भयो ।’
अध्यक्ष ओलीले वर्तमान सरकार ‘म नै राज्य हुँ’ भन्ने पाराले चलेको बताए । त्यस्तै उनले एमाले मात्र संसद र जनता प्रति उत्तरदायी रहेको दाबी गरे ।
उनले भने, ‘को हो एमाले ? एमाले त अहिलेको संसद चलाउने पार्टी हो। संख्या हेरौं न। एमाले केति छ, को हो भनेर हेरौँ न, अरु पार्टीलाई संसद प्रति कुनै रुची छ र ? जनताको समस्या प्रति रुची छ ? संसद गनौं त यो सदन चलाउन एमाले नहुने हो भने कोरम पुग्दैन । अनी प्रतिपक्षी को हो भन्ने यो अवधारणा ‘म नै राज्य हुँ ’ भन्ने रहेको छ ।











