Logo
Logo

पूर्वगृहमन्त्री बादल प्रहरी छानबिनमा



काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रहरी छानबिनमा तानिएका छन् । गृहमन्त्री हुँदा नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने धन्दामा नीतिगत सहयोग गरेको पाइएपछि उनी छानबिनमा तानिएका हुन् ।

गणनामा छुटेकालाई भुटानी शरणार्थी परिचयपत्र दिने भनेर तीन वर्षअघि ठूलो चलखेल भएको थियो । त्यसमा गृह मन्त्रालयकै केही अधिकारी मिलेका थिए । त्यसमा करोडौैं पैसा उठाइएको खुलेपछि हाल पीडितहरु प्रहरीमा पुगेका छन् । पीडितहरुले बादलका तत्कालिन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, उनका छोरा निरज राई, माओवादी निकट बिचौलिया सन्देश शर्मा, केशव दुलाललगायतले समेत पैसा लिएको बताएका छन् । तत्कालिन गृहमन्त्रीकै सल्लाहकार मुछिएपछि यसमा बादलको पनि शंकास्पद भूमिका देखिएको छ ।

किनकि, सो गिरोहलाई फाइदा हुने गरी गृह मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको एक समिति बनाएको थियो । उक्त समितिले चार सय २९ जनालाई शरणार्थी परिचयपत्र दिन सिफारिस गरेको थियो । जसमा एक सय भन्दा धेरै नेपालीलाई रोखिएको छ ।

उनीहरूलाई शरणार्थीको परिचयपत्र बनाएर अमेरिकालगायत देश लैजाने भनेर २० लाखसम्म उठाइएको थियो । तर, शरणार्थी परिचयपत्र पनि नबनेको र पैसा पनि फिर्ता नपाएपछि उनीहरु प्रहरीमा पुगेका हुन् ।

सो समितिमा अधिवक्ता गणेश केसी र शाखा अधिकृत दीपक न्यौपाने सदस्य थिए । गृह मन्त्रालयका बदनाम अधिकृत न्यौपाने पनि गिरोहसँग मिलेको स्रोत बताउँछ । यो प्रकरणमा न्यौपाने पनि पक्राउ पर्न सक्ने प्रहरी अधिकारीले बताएका छन् ।

सरकार फेरिएपछि सो प्रकरणमा गृह मन्त्रालयले थप छानबिन गरिरहेको छ । स्रोतका अनुसार त्यसअघि भएको आर्थिक लेनदेनको सूचना पाएपछि गृहले फाइल रोकेको हो । हाल झापाका सहायक सिडिओको अध्यक्षतामा एक समिति बनाएर त्यस प्रकरणमा थप छानबिन भइरहेको छ । अहिले पनि गृह मन्त्रालयलाई प्रभावमा पार्ने प्रयास भइरहेको स्रोत बताउँछ ।

पीडितहरुले काठमाडौं उपत्यकाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । जसअनुसार सन्देश शर्मा लगायत व्यक्तिविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । तर, त्यसमा उच्च पदस्थ व्यक्तिहरु नै फस्ने भएपछि पहिले नै सूचना चुहाएर शर्मालाई फरार बनाइएको छ ।

यसमा तत्कालिन गृहमन्त्री बादल तथा अर्का तत्कालिनमन्त्री टोपबहादुर रायमाझी निकट व्यक्तिहरु संलग्न छन् । जसकारण बादलसँगै रायमाझी पनि छानबिनमा तानिन सक्ने अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्