काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर दुई गते गर्दा उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

आयोगले संघ र प्रदेशको निर्वाचनको लागि दुई मिति सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले मंसिर ५ गतेका लागि पनि निर्वाचन वैकल्पिक मिति हुने औंल्याएको छ तर पहिलो प्राथमिकता भने मंसिर २ गते ने भएको आयोगले जनाएको छ । आयोगले जुन मिति भए पनि निर्वाचन एकै चरणमा गर्न समेत सुझाव दिने भएको छ ।
स्रोतकाअनुसार बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी मिति सिफारिस गर्ने तयारी गरेको छ । प्रधानमन्त्री देउवासँग बुधबार भेटका लागि आयोगका पदाधिकारीहरुले समय लिइसकेका छन् ।
गत शुक्रबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच छलफल भएको थियो ।
छलफलका क्रममा प्रधानमन्त्री देउवाले निर्वाचनको मिति प्रस्ताव गर्न थपलियालाई आग्रह गरेका थिए । त्यसपछि आयोगले सुरक्षा निकायका प्रमुखहरुसँग पछि निर्वाचनबारे छलफल गरेको थियो ।











