Logo
Logo

अनन्त पछि हट्न तयार, प्रभाकर दुई भोट पाए पनि चुनाव लड्ने


315.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारबाट काठमाडौंमा जारी छ । यसै बैठकबाट माओवादीले पदाधिकारी टुंगो लगाउने भनेको छ ।

केन्द्रीय समिति बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी टुंगो लगाउने विशेष जिम्मा पाएका छन् । प्रचण्ड यतिखेर पदाधिकारी टुंगो लगाउने कसरतमा जुटेका छन् ।

माओवादीको पदाधिकारी टुंगो लगाउने विषय महासचिवमा अड्केको हो । जनर्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’मध्ये एकलाई महासचिव छान्न प्रचण्डलाई हम्मे–हम्मे परेको छ ।

प्रचण्ड दोहोरो चेपुवामा परेका छन् । प्रभाकरलाई महासचिव बनाउँदा आफ्नै समूहका अनन्त बाहिरिने र अनन्तलाई महासचिव बनाए माओवादीमा अलग सत्ताको अभ्यास गरिरहेका प्रभाकर झन् टाढिने चिन्ता छ । यसै कारण प्रचण्डले ठोस निर्णय लिन नसकेका हुन् । पदाधिकारीको अन्य पदमा भने खासै समस्या छैन । लगभग कुरा मिलिसकेको छ ।

यसैबीच, अनन्त र प्रभाकरबीच संवाद भएको छ ।

संवादमा अनन्त नरम देखिए पनि प्रभाकर भने कडा रुपमा प्रस्तुत भएका छन् । अनन्तले प्रभाकरसँग ‘हामी दुईका कारण पदाधिकारी चनय रोकियो, हामी छोडौं’ भन्ने प्रस्ताव राखेका थिए । तर, प्रभाकर भने अरुलाई छोड्ने पक्षमा देखिएनन् ।

अनन्तको प्रस्तावमा प्रभाकरले भने– ‘म महासचिव छोड्ने पक्षमा छैन । तपाई छोड्नु हुन्छ भने बेग्लै कुरा हो । दुई भोट पाए पनि ठीकै छ । मत चुनाव लड्न तयार छु ।’

अनन्त ‘महासचिवको रेसबाट दुवै पछि हटौं’ भन्ने पक्षमा देखिएका छन् । दुवै पछि हट्दा सिनियर वा जुनियरबाट महासचिव बनाए हुन्छ भन्ने अनन्तको धारणा रहेको छ । तर, प्रभाकर भने आफू बाहेक अरुलाई महासचिव स्वीकार्ने पक्षमा नरहेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्