Logo
Logo

रुपन्देहीमा सिकलसेलका बिरामी बढे



भैरहवा । थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या रुपन्देहीमा बढ्दै गएको छ । जिल्लामा खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीले सिकलसेल तथा थालसेमिया रोगसम्बन्धी कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जिल्लामा २७ रोगी रहेका छन् ।

जसमा महिला १८ र पुरुष नौ रहेका छन् । सबैभन्दा बढी तिलोत्तमामा पुरुष चार र महिला पाँच गरी नौ रहेका छन् । त्यसैगरी सियारीमा पुरुष एक, महिला तीन, शुद्धोधनमा पुरुष एक, महिला तीन, गैडहवामा पुरुष दुई, महिला दुई, बुटवलमा महिला तीन, ओमसतियामा महिला पुरुष एक/एक र सैनामैनामा एक महिला रहेका छन् ।

रुपन्देहीसहित लुम्बिनी प्रदेशको ६ जिल्लामा बिरामीको सङ्ख्या बढ्दै गएको छ । बर्दियामा सबैभन्दा बढी बिरामी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । २१९ महिला र १७५ पुरुष गरी ३९४ बिरामी बर्दियामा मात्रै रहेका छन् । बाँके जिल्ला यो रोगको धेरै बिरामी रहेको आधारमा लुम्बिनी प्रदेशमा दोस्रो नम्बरमा पर्ने गर्दछ । बाँकेमा ६५ महिला र ५७ पुरुष गरी १२२ बिरामी रहेको तथ्याङ्कले देखाउँछ । दाङमा १३ महिला, १८ पुरुषसहित ३१, कपिलवस्तुमा एक, महिला र एक पुरुष गरी दुई बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

तरकारी खेतीमा कृषि विकास बैंकले सहयोग गर्ने

कृषि विकास बैंक दयानगर छपियाँ शाखा रुपन्देहीले कृषकलाई तरकारी खेतीमा आर्थिक सहयोग गर्ने भएको छ । जिल्लाको गैडहवा गाउँपालिका क्षेत्रमा रहेका कृषकलाई तरकारी उत्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सहयोग गर्न थालिएको दयानगर छपियाँ शाखाले जनाएको छ । स्थानीय क्षेत्रमा सञ्चालित कृषक व्यवसायीलाई व्यापार विस्तारमा बैंकले सहयोग गरेका हुन् ।

कृषक, स्थानीय बासिन्दा, बैंकका प्रतिनिधि र जनप्रतिनिधि विच शुक्रबार भएको छलफलमा कृषिक्षेत्रको बिकासमा सहकार्य गर्ने सहमति भएको कृषि विकास बैंक दयानगर छपियाँ शाखाले जनाएको छ । बैंकका शाखा प्रबन्धक गणेशसिंह श्रेष्ठले व्यवसायी तरकारी उत्पादन तथा पशुपालन क्षेत्रमा काम गर्न चाहना किसानका लागि वार्षिक ३ प्रतिशत ब्याजमा बैंकले आवश्यकताअनुसार उपलब्ध गराउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्