Logo
Logo
कला

‘आहा ! त्यो पञ्चमी मेला, झल्झली याद आउँछ’



रंगमञ्च क्षेत्रमा ‘चोरको स्वर’ चर्चामा छ । लिम्बू समुदायको वैवाहिक एवं संस्कृति उजागर गर्ने उक्त नाटक करिब दुई महिनादेखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।

‘चोरको स्वर’सँगै चर्चामा छिन्, नाटककी मुख्य पात्र लक्ष्मी योङहाङ । कल्चरलवेशमा कलाकारिता गर्दै आएकी लक्ष्मी नाटकको एक प्रमुख पात्र हुन् । कथा उनकै वरिपरि घुम्छ । २०६१ सालमा उच्च शिक्षा अध्ययनका लागि पाँचथर राँकेबाट सहर भित्रिएकी लक्ष्मी अचानक कलाकारितामा प्रवेश गरिन् । तर, अहिले उनको चर्चा चुलिँदै छ ।

‘कलाकार बन्छु भन्ने सोचेकै थिइन’ लक्ष्मीले भनिन्, ‘ख्यालख्यालमै कलाकार भइयो ।’ लक्ष्मीले केही नेपाली फिल्ममा पनि अभिनय गरिसकेकी छन् । विशेषगरी लिम्बू संस्कृतिमा आधारित फिल्म र भिडियोमा अभिनय गर्दै आएकी मोडल तथा अभिनेत्री लक्ष्मी योङहाङसँग एमपी सुब्बाको जम्काभेट :

‘चोरको स्वर’ले चर्चा पाइरहेको छ । तपाइँले कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
नाटक हेर्ने जतिले रुचाएका छन् । नाटक रुचाउन्, मनपराउनु र चर्चा गर्नु भनेको कलाकारका लागि फाइदा नै हो । व्यक्तिगत रुपमा पनि सकरात्मक प्रतिक्रिया पाइरहेकी छु । यस नाटकले मेरो करिअरलाई प्लस गरेको छ ।

नाटकको मुख्य पात्र हुनुहुन्छ । ‘चोरको स्वर’को सार के हो ?
लिम्बू समुदायमा चल्दै आएको भागी विवाह नाटकको मुख्य सार हो । लिम्बू समुदायमा भागी विवाह गरेपछि केटा पक्षले केटी पक्षलाई ‘चोरको स्वर’ बुझाउनुपर्छ । यसलाई भ्यासालाङ, मेख्खिम साः, चार कलम पनि भन्ने गरिन्छ । लिम्बू समुदायमा कुटुम्बको छोरी भगाएपछि रित बुझाउने चलन छ । त्यो चलनलाई नाटकमा उतारिएको छ ।

फिल्म र मोडलिङमा काम गर्दागर्दै नाटकमा कसरी प्रवेश गर्नुभयो ?
यसमा एउटा संयोग जस्तै भएको छ । चार वर्ष अगाडि वेरी एक्टिङ स्टुडियोबाट फूलस्कलरशीप पाएकी थिएँ । त्यतिखेरै मैले नाटक ‘तुम्बी बाजे’मा अभिनय गर्ने अवसर पाएँ । त्यो नाटक काठमाडौं र धरानमा मञ्चन भएको थियो । ‘चोरको स्वर’ मेरो दोस्रो नाटक हो । यो नाटकका निर्देशक अनिल सुब्बा हुनुहुन्छ । उहाँले केही समयअघि प्रस्ताव गर्नुभएको थियो । तर, त्यो समयमा व्यस्त थिएँ । अहिले मेरो समयलाई ख्याल गरेरै मञ्चन गरिएपछि अभिनय गरेकी हुँ ।

कलाकारितालाई कसरी अँगाल्न पुग्नुभयो ?
सानो हुँदा गाउँघरमा मेला, हाटबजारमा धान नाचिन्थ्यो, पालाम गाइन्थ्यो । तर, कलाकारिता गर्छु भन्ने सोचेकी थिइन । अचानक कलाकार बन्न पुगेँ । खाशगरी ‘मिस लिम्बू–२०१५’मा सहभागी भएपछि कलाकारिताप्रति मोह जाग्न थालेको हो । ‘मिस लिम्बू’मा ‘युमा’ सवटाइटल पनि पाएकी थिएँ । अहिले सम्झिँदा लाग्छ– ख्यालख्यालमै कलाकार भएछु ।

राँकेदेखि काठमाडौं के सोचेर आउनुभएको थियो ?
उच्च शिक्षा अध्ययनका लागि आएकी हुँ । काठमाडौं आएपछि रत्नराज्य लक्ष्मी क्याम्प (आरआर)मा पोल्टिकल साइन्स लिएर ब्याचुलर जोइन गरेँ । क्याम्पस पढ्दापढ्दै मिस लिम्बूमा सहभागी भएँ । त्यसपछि मेरो यात्रा कलाकारितातिर कअघि बढ्यो ।

गाउँघरमा धान नाच्नुहुन्थ्यो ?
मेलाबजार साह्रै जाने गर्दथे । मेला र हाटबजारमा गएर थाङ्बेन (तन्नेरी)हरुसँग धान पनि नाच्थे । पालम र हाक्पारे पनि गाउँथे । गाउँघरको मेलाबजार त्यो समयमा साह्रै रमाइलो लाग्थ्यो ।

तपाइँलाई पालाम र हाक्पारे गाउन आउँछ ?
आउँछ । सानैदेखि गाउँदै आएको हो । धाननाच, पालाम र हाक्पारे लिम्बू समुदायको सांस्कृतिक पहिचान हो । तर, अहिले मेलापात र हाटबजार मात्र नभएर धाननाच लोप भएको छ ।

फिल्म र म्युजिक भिडियोहरुमा धान नाच्दा गाउँघरको याद आउँछ ?
एकदमै आउँछ । त्यसबाहेक हाम्रो गाउँनजिक द्वितिय मेला लाग्छ । वर्षमा एक पटक लाग्ने मेला हो त्यो । अहिले पनि त्यो मेलाको याद आइरहन्छ ।

तपाइँले मिस गरिरहने मेला कुन हो ?
मलाई बढी याद आउने पञ्चमीमा लाग्ने मेला हो । पञ्चमी मेलाको बढी याद आउनुको कारण छ । त्यो मेला भर्न जानुको बेग्लै मज्जा र आनन्द लाग्थ्यो । खाशगरी त्यो मेलामा आलु र खुर्सानी साट्न पाइन्थ्यो । लेकालीले आलु ल्याउने, हामीले खुर्सानी लाने र साटेर ल्याउने । खुर्सानीसँग आलु साट्ने निहुँमा तन्नेरी पनि भेट्न पाइने भएकाले त्यो बेला पञ्चमी मेला साह्रै रमाइलो लाग्थ्यो । अहिले पनि त्यो मेला मिस गरिहरन्छु ।

हिजोआज थाङबेनहरुबाट प्रेम प्रस्ताव कतिको आउँछ ?
प्रस्ताव आइरहेको हुन्छ । तर, धेरैजसो ख्यालठट्टामै प्रस्ताव आइरहेको हुन्छ । सिरियसल्ली विवाह गर्छु भनेर आएको छैन ।

घरजमबारे के सोच्दै हुनुहुन्छ ?
मेरो घरजम अहिले नै होला जस्तो लाग्दैन । अर्को कुरा, विवाह भन्ने कुुरा सोचेर र चाहेरमात्र नहुने रहेछ । भाग्यमा लेखेकै हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्