Logo

अतुलनीय पुष्पलाल


Published On : 23 July, 2019

सोमप्रसाद पाण्डे

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव प्रगतिशील तथा प्रजातान्त्रिक आन्दोलनका वैचारिक कमाण्डर नेपाली परिप्रेक्ष्यमा माक्र्सवादका सही व्याख्याता क. पुष्पलाल यो संसारबाट बिदा भएको ४१ वर्ष पुगिसकेको छ । पिता भक्तलाल श्रेष्ठ र माता तुल्सीमाया श्रेष्ठको माइलो छोराको रुपमा विसं १९८१ आषाढ १५ गते रामेछापको भँगेरी भन्ने स्थानमा उनको जन्म भएको थियो । क. पुष्पलालको प्रारम्भिक शिक्षा दाजु गंगालालको बन्दोबस्तीमा भयो भने, पाटन हाइस्कूल अध्ययन गरी प्रवेशिका उत्तीर्ण गरेपछि उनी पूर्णरुपमा राजनीतिमा होमिए । पुष्पलालको विवाह विसं २०१० सालमा क. सहाना प्रधानसँग भएको थियो । क. पुष्पलाल निजी जीवन नै थिएन । सधैँ देश, जनता र पार्टीको निम्ति सम्पूर्ण जीवन खर्चेको र निजी स्वार्थमा कहिल्यै नलागेको पाइन्छ । राजनीतिक जीवनमा क. पुष्पलालबाट प्रमुख रुपमा हामी सबैले सिक्नुपर्ने शिक्षा भनेको सबैखाले कठीनाइलाई चुनैतीको रुपमा सामना गर्दै अथक योद्धाको रुपमा आफ्नो अडानमा दृढतापूर्वक उभिनु नै हो ।

क. पुष्पलाल आफ्नो दाजु गंगालाल श्रेष्ठले नेपालमा प्रजातन्त्र र नेपाली जनताको अधिकार प्राप्तिको निम्ति आफूले बालेको दियोलाई प्रज्जवलित गर्न दिएको प्रेरणा नै राजनीतिमा पूर्णरुपले समर्पित हुने थप स्रोत पनि बन्यो । विसं १९९७ मा दाजु गंगालाल शहिद हुनुभइसकेपछि प्रजातान्त्रिक आन्दोलनको निम्ति बाटो खोज्दै जाने क्रममा विसं १९९८ मा प्रेमबहादुर कंशाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज, रामराजालगायत रहेको नेपाली प्रजातान्त्रिक संघमा समेत आवद्ध भए । राजनीतिक कामलाई सक्रियताका साथ अगाडि बढाउँदै गएर विसं २००४ सालमा राष्ट्रिय कांग्रेसले आह्वान गरेको आन्दोलनमा समेत विशेष जिम्मेवारीका साथ उनले अगुवाइ गरे ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना

क. पुष्पलाल निजी जीवन नै थिएन । उनको जीवन पढ्दा सधैँ देश, जनता र पार्टीको निम्ति सम्पूर्ण जीवन खर्चेको र निजी स्वार्थमा कहिल्यै नलागेको पाइन्छ । राजनीतिक जीवनमा क. पुष्पलालबाट प्रमुख रुपमा हामी सबैले सिक्नुपर्ने शिक्षा भनेको सबैखाले कठीनाइलाई चुनैतीको रुपमा सामना गर्दै अथक योद्धाको रुपमा आफ्नो अडानमा दृढतापूर्वक उभिनु नै हो । अहिले पनि धेरै कार्यकर्ताहरुले यही आदर्श पछ्याइरहेका छन् ।

क.पुष्पलालले नेपालभित्र रहेका सबै राजनीतिक पार्टीहरुको रणनीति, कार्यनीति, सिद्धान्त र सोचहरुलाई नजिकबाट हेरिरहेका थिए । त्यतिबेला मुलुकमा जहानियाँ राणा शासन चलिरहेको, राजाले आफ्नो अधिकार प्राप्तिको चाहना राखिरहेको, यता आम जनता र राष्ट्र राष्ट्रिय हितको निम्ति राणा शासनको अन्त्य, सम्पूर्ण प्रतिगामी शक्तिहरु, सामन्तवाद, साम्राज्यवाद, नोकरशाहीको अन्त्य गर्दै देशभक्त एवं प्रगतिशील र प्रजातन्त्रमा विश्वास राख्ने जनवादी व्यवस्था स्थापना गर्नुपर्ने आवश्यकता देखेर क. पुष्पलालले २००६ साल वैशाख १० गते (२२ अप्रिल, १९४९) मा भारतको कलकत्ता श्यामबजार एक बंगालीको घरमा पार्टी नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे । त्यतिबेला पार्टीको संस्थापकमा क.पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठ थिए ।

विसं २०१४ सम्म संविधानसभाबाट बनेको संविधानले मात्र निर्वाचन गर्ने अडान पुष्पलालले राखेका थिए । तर परिस्थिति बदलियो, राजा महेन्द्रले आफूले बनाएको संविधानबाट आम निर्वाचन गर्ने भनेपछि परिस्थिति बुझेर २०१५ सालको निर्वाचनमा भाग लिए । जब राजा महेन्द्रले विसं २०१५ सालमा आमनिर्वाचनबाट बनेको संसद् र सरकार ‘कू’ गरी विसं २०१७ पौष १ गते सत्ता आफ्नो हातमा लिए र राजनीतिक पार्टीहरुलाई प्रतिबन्ध लगाए, त्यसपछि क. पुष्पलालले अब नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी मिली संयुक्त जनआन्दोलन गर्नुपर्छ भनी प्रस्ताव गरे । त्यतिबेला विपी कोइरालाले संयुक्त जनआन्दोलनको प्रस्ताव अस्वीकार गरे । राजनीतिक पार्टी प्रतिबन्धित भएपछि भूमिगत भएका पुष्पलाल, विपी कोइराला निर्वासनमा जानुबाहेक विकल्प रहेन । विसं २०३३ सालमा नेपाली कांग्रेसले राजासँगको मेलमिलापको घोषण गरी निर्वासनबाट नेपाली कांग्रेस नेपाल फर्किएपछि त पुष्पलालको प्रस्ताव समाप्त नै भयो ।

तर संयुक्त जनआन्दोलनको प्रस्ताव विपी कोइरालाले अस्वीकार गरे पनि २०४६ सालमा गण्ोशमान सिंहले संयुक्त आन्दोलनबाहेक विकल्प छैन भने । २०४६ सालको जनआन्दोल विसं २०१७ सालमा पुष्पलालले राखेको प्रस्तावअनुसार अघि बढ्यो । सर्वोच्च कमाण्डर सिंहको नेतृत्वमा संयुक्त आन्दोलन भयो । देशमा बहुदलीय व्यवस्था आयो ।

पुष्पलाल डेढ वर्ष वनारस जेलमा बन्दी जीवन बिताए । जेल मुक्त भएपछि मनमोहन अधिकारी भारतीय कम्युनिष्ट पार्टीसँग सल्लाह गरेर विराटनगरमा मजदुर आन्दोलन चलाउन आए र मजदुुर आन्दोलन सुरु भयो । भारतीय कम्युनिष्ट पार्टीका नेता रत्नलाल ब्राह्मणले समेत आन्दोलनमा सम्बोधन गरेका थिए । त्यसबीचमा पुष्पलालमाथि ठूलो षड्यन्त्र भयो । उनलाई महासचिवबाट पदच्युत गरियो । तैपनि पुष्पलाल आफ्नो सिद्धान्त, विचारबाट विचलित भएनन् । यसरी हेर्दा पद होस् या नहोस् क. पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको जिम्मेवार नेतृत्व लिइरहेको र पदलोलुपता र महत्वकांक्षा बढी नदेखाएको देखिन्छ । यो हामी सबैको लागि ठूलो राजनीतिक शिक्षा हो ।

पार्टी एकतामा जोड

क.पुष्पलालले बीच–बीचमा आएका पार्टी विभाजन र केही असन्तुष्टिलाई पनि खुला छलफल र सरसल्लाहबाट टुंगो लगाउने कोसिस गरेको देखिन्छ । कम्युनिष्ट पार्टीलाई एकीकृत बनाइ लैजाने र निरन्तर मुलुक र पार्टीको हितमा लगेको देखिन्छ । यसरी पुष्पलाललाई अध्ययन गरी हेर्दा निर्वासनमा बसेर अत्यन्तै कष्टकर जीवन बिताउनु परे पनि, निरन्तर नेपाल र नेपाली जनताको हितमा नेपाल कम्युनिष्ट पार्टीलाई सुदृढ बनाउने काममा लागे । यतिसम्मकि क. पुष्पलालले जातपातले राजनीति चल्दैन, नेपाली जनताको हित गर्दैन भन्थे । आफ्नो थर श्रेष्ठ भए पनि आफ्नो नामको पछाडि थरसमेत कहिल्यै जोडेनन् ।

अन्तमा, क. पुष्पलाल नेपाली जनताको मुक्तिको निम्ति, नेपाली जनताको रुपान्तरणको निम्ति, प्रजातान्त्रिक आन्दोलनको निम्ति सधँै अमर र जीवित रहने व्यक्ति हुन् । क.पुष्पलाल नै नेपाली माटोमा कम्युनिष्ट पार्टीको शिलान्यास गर्ने व्यक्ति हुन् । क. पुष्पलाल नेपाली जनतालाई सचेत बनाउने व्यक्ति हो र यस्तै निरंकुश राजतन्त्रको अन्त गर्न नेपाली कांग्रेससँग संयुक्त जनआन्दोलनमा जानुपर्छ भन्ने पहिलो व्यक्ति हो । आज कम्युनिष्ट आन्दोलनको बलमा जति पनि राजनीतिक परिवर्तन भएको छ, त्यसको जग पनि पुष्पलाल नै हुन् । यही शब्दसहित पुष्पलालप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।

(पाण्डे नेकपा केन्द्रीय सदस्य तथा पाल्पा–२का सांसद हुन्)

प्रतिक्रिया दिनुहोस्