Logo
Logo

टेलिकमको एफटीटीएचमा अब थप सुविधा, कम्बो र अन्य अफर प्रयोग गर्न सकिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवालाई २०७६ साउन ५ गतेदेखि लागु हुनेगरी थप व्यवस्थित गरेको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिन्छ ।

यस अघि जडान भएका तथा नयाँ जडान हुने सबै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्ड लाइनबाट देशभरका अन्य अपरेटरको नेटवर्कमा पनि साउन ५ गतेदेखि कल गर्न सकिने सुविधा स्वतः उपलब्ध भएको छ । नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क राखी आवश्यकता अनुसार आईएसडी लगायतका विभिन्न सेवा समेत थप गर्न सकिने छ ।

नेपाल टेलिकमले प्रबद्र्धनात्मक अफर अन्तर्गत यो सेवा लिने ग्राहकहरुका लागि कम्पनीको नेटवर्क भित्र मात्र कल गर्न मिल्नेगरी निःशुल्क भ्वाइस कल सेवा उपलब्ध गराइरहेको थियो । सो अफर असार मसान्तदेखि समाप्त भएकोले साउन ५ गते पश्चात एफटीटीएच प्रविधिमार्फत सञ्चालित ल्यान्डलाइन नम्बरमा पर्याप्त व्यालेन्स नभएमा भ्वाइस कल सेवा बन्द हुन सक्नेछ । त्यसैले समयमै मासिक रेन्टल चार्जको रुपमा न्यूनतम २ सय ६० रुपैयाँ रिचार्ज गरी सेवा सुचारु राख्न सकिनेछ । मासिक रेन्टल वापत नेपाल टेलिकमको नेटवर्क भित्र २ सय ५० मिनेटसम्म निःशुल्क कल गर्न सकिनेछ भने अन्य कलको लागि ल्यान्डलाइन टेलिफोनसरह शुल्क लाग्नेछ ।

हाल प्रयोगमा रहेको ल्यान्डलाइन (पीएसटीएन) टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न तरिकाले महशुल बुझाउन वा रिचार्ज गर्न सकिन्छ । नजिकको दूरसञ्चार कार्यालयबाट, एमपोस प्रविधिबाट, बैंकबाट, नेपाल टेलिकमका कुनै पनि नम्बरबाट १४१२ मा डायल गरी वा नेपाल टेलिकमको वेबसाइटमार्फत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न सकिने छ ।

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । जस अन्तर्गत ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका उपलब्ध प्याकेजहरु प्रयोग गर्न सकिन्छ भने कर्पोरेट प्याकेज अन्तर्गत १० र २० एमबीपीएसका ३ महिना, ६ महिना र एक वर्ष समयावधिका एफटीटीएच इन्टरनेट प्याकेजहरु उपलब्ध छन् ।

नयाँ लाइन जडान गर्दा एक वर्षको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीई निःशुल्क उपलब्ध गराइने छ भने छ महिनाको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीईको मूल्यमा रु. ३ हजार छुट उपलब्ध गराइने छ । यसैगरी सबै नयाँ जडान गर्ने ग्राहकहरुलाई एकसय मिटर फाइबर निःशुल्क उपलब्ध गराइने छ ।

हालै समर अफर अन्तर्गत एफटीटीएच इन्टरनेट सेवामा नयाँ कम्बो प्याकेज ल्याइएको छ । यी प्याकेजहरु १५ एमबीपीएस, २५ एमबीपीएस, ४० एमबीपीएस र ६० एमबीपीएसमा उपलब्ध छन् । १५ एमबीपीएसको एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको ६ हजार ४ सय रुपैयाँ र एक वर्षको १२ हजार ३ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

त्यसैगरी २५ एमबीपीएसको कम्बो प्याकेज १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमै उपलब्ध गराइएको छ ।

४० एमबीपीएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यता ६० एमबीपीएसको सोही प्याकेजको मूल्य क्रमशः २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ रहेको छ । यी सबै कम्बो प्याकेजमा उल्लेखित इन्टरनेट व्यान्डविथको अलावा १ महिना, ३ महिना, ६ महिना र एक वर्षको लागि क्रमशः २ सय ५० मिनेट, ७ सय ५० मिनेट, १५ सय मिनेट र ३ हजार मिनेटसम्म नेपाल टेलिकमको नेटवर्क भित्र निःशुल्क कल गर्न सकिने सुबिधा उपलब्ध गराइएको छ ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी छ । पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले समेत एफटीटीएच सेवा अपग्रेड गरी लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्