काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसका पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ ।
बिहीबार सत्ता गठबन्धनबाट भुसालले उपसभामुखमा मनोनयन दर्ता गराएकी छन् भने प्रमुख प्रतिपक्षी एमालेले विद्यालाई अगाडि सारेको छ । विद्याले पनि बिहीबार नै मनोनयन दर्ता गरेकी छन् ।

सत्ता गठबन्धनबाट उपसभामुखको उम्मेदवारी दिएकी भुसाललाई नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थन रहेको छ ।
यस्तै, एमालेबाट उपसभामुखको उम्मेदवार बनेकी ले विद्याको प्रस्तावकमा शान्ता चौधरी तथा समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् ।
यसअघि लोसपाले उम्मेदवारी दिने बताएपछि एमाले उम्मेदवारी नदिने पक्षमा थियो । तर, लोसपाले उम्मेदवारी नदिने भएपछि एमालेले विद्यालाई अघि सारेको हो । लोसपाले भने सत्ता गठबन्धनलाई नै साथ दिने भएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् । बाँकी २७१ मा पनि चारजना निलम्बनमा रहेका २६६ जनाले मतदान गर्न पाउँछन् । १३४ मत भए उपसभामुख जित्न पुग्छ ।
गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् । जसपाका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् । गठबन्धनमा आबद्ध राजमोको एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक–एकजना सांसद छन् ।
कांग्रेस, माओवादी र नेकपा एसको मत नै सत्ता गठबन्धनलाई जित्न पुग्ने देखिन्छ । शुक्रबार उपसभामुखको निर्वाचन हुँदैछ ।











