काठमाडौं । हिमालय एअरलाइन्स्ले अन्तर्राष्ट्रिय पहिचानलाई विस्तार गर्दै आठौं अन्तर्राष्ट्रिय निर्धारित गन्तव्य र छैठौं गल्फ सिटी कुवेतको लागि जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सम्पन्न गरेको छ । एअरलाइन्सले हरेक शुक्रबार काठमाडौंदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौं उडान सञ्चालन गर्नेछ ।

निर्धारित उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुलाई १५, २०२२ शुक्रबार राती २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिबार बिहान ०९ः१७ बजे काठमाडौं अवतरण गरेको थियो । उडान उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिको उपस्थिति थियो ।
अरबी प्रायद्वीपको देश, कुवेत विशेषगरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीहरूका लागि महत्वपूर्ण गन्तव्य हो । नेपाल र कुवेतबीच मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहेकोमा हिमालय एअरलाइन्स्द्वारा काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको उद्घाटनले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ ।
नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो । काठमाडौंलाई कुवेतसँग सीधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी हिमालय एअरलाइन्स् बन्न सफल भएको छ । यसले कुवेत र नेपालका लागि रोजगारी, व्यापार र पर्यटनका लागि दुवै देशका यात्रुहरुको आवतजावतमा थप सहजता प्रदान हुने एअरलाइन्स्को विश्वास छ ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भन, ‘हिमालय एअरलाइन्स यात्रुहरूलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएको छ । हिमालयले काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको सुरुवात पनि सोही भावना अनुरुप गरेको हो ।’ कोभिड–१९ महामारी र पछिल्लो समयको युक्रेन संकटबाट प्रभावित राष्ट्रिय अर्थतन्त्र र एअरलाइन्स्का लागि यस नयाँ रुटमा सेवा सुचारु गर्दा केही सहजता प्रदान हुने उनको अपेक्षा छ ।












