Logo
Logo

ओली बाहेकलाई समेटेर ‘समाजवादी केन्द्र’ बनाउने प्रयास



काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयका पाँच नेताको छलफलले निरन्तरता पाएको छ । उनीहरुबीच एकता र नयाँ पार्टी गठनको विषयमा निरन्तर छलफल हुन थालेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको ‘नेकपा’को सचिवालयमा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सदस्य थिए । बाँकी ओली समूहका ।

नेकपामा आन्तरिक कलह उत्कर्षमा पुग्दा यी नेता एक ठाउँमा थिए । बहुमत सदस्य विपक्षमा उभिँदा अर्का अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेका थिए ।

नेकपा विभाजन हुँदा प्रचण्ड र नारायणकाजी पुरानै पार्टीमा फर्के । माधव र झलनाथले केही समयपछि एमालेबाट विद्रोह गर्दै नयाँ पार्टी गठन गरे । वामदेव भने लामो सयम नेकपा एकता अभियान भन्दै बसेका थिए । पछिल्लो समय सोही अभियानलाई दलमा रुपान्तरण गरेका छन् ।

नेकपा विभाजनपछि बनेका कुनै पनि दलले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेका छैनन् । एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नेकपा एकता अभियान सबैको अवस्था उस्तै छ ।

कमजोर हुँदै जाँदा यी दलले धेरै गुम्दै गएको बुझेका छन् । त्यसैले पछिल्लो समय वामपन्थी एकताको विषयले स्थान पाउन थालेको हो । एमाले बाहेकका शक्ति एक हुन तयार देखिन्छन् । अरु शक्तिलाई पनि सँगै लैजानुपर्ने विषयमा समेत छलफल चलेको छ । एमालेले भने यस विषयमा इच्छा जाहेर गरेको देखिँदैन । तर, अध्यक्ष ओलीसँग फरक मत राख्ने नेताहरु भने वाम एकतामा चासो राख्छन् ।

तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यबीच मात्र छलफल सीमित छैन । एकता र नयाँ पार्टी निर्माणको छलफलले आकार ग्रहण गर्दै गएको देखिन्छ । तत्कालीन नेकपाबाट बनेका दल बाहेकका शक्तिलाई पनि एकतावद्ध गर्ने विषयले स्थान पाएको छ ।

अहिलेका लागि नेकपा बाहेकका शक्तिका रुपमा जनता समाजवादी पार्टी (जसपा)लाई लिइएको छ । जसपाको एउटा समूहलाई पनि यो प्रकृयामा सामेल गराउने प्रयास भएको देखिन्छ । त्यसमा जसपाका पूर्व नेता डा. बाबुराम भट्टराईले नेतृत्व गरेको समूह इच्छुक देखिन्छ । त्यसो त, जसपाको संस्थापन पक्ष पनि यस प्रकृयामा सामेल हुनसक्ने आकलन हुने गरेको छ ।

जसपालाई समेत जोड्ने हो भने ‘कम्युनिष्ट पार्टी’ नभनेर ‘समाजवादी’ शब्दसँग सम्बन्धित नाम राख्नुपर्ने विषयमा छलफल अघि बढेको छ । त्यो बाबुरामका लागि फेस सेभिङ र अरुका लागि सहज मानिएको छ । ‘समाजवादी केन्द्र’ निर्माणको विषयमा छलफल केन्द्रित छ ।

जसपामा अन्तरसंघर्ष चुलिएसँगै बाबुरामले प्रचण्डसँग छलफल प्रारम्भ गरेका थिए । यसबीचमा प्रचण्ड–बाबुरामबीच तीन चरणमा छलफल भएको छ । तीनै चरणको छलफलको निष्कर्ष– ‘समाजवादी केन्द्र बनाउन सकिन्छ’ भन्ने हो ।

मंगलबार पनि तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफल भएको छ । त्यस अगाडि प्रचण्ड र बाबुरामबीच छलफल भएको थियो । पाँच नेताको बैठकमा प्रचण्डले बाबुरामसँग भएको छलफल र सम्भावित परिदृश्यबारे जानकारी गराएका थिए ।

पाँच नेताबीच ओली प्रतिगमन परास्त गरेको भए पनि विभाजनपछि थप उपलब्धी प्राप्त हुन नसकेको विषयमा छलफल भएको थियो । थप एकताबिना आन्दोलन र उपलब्धिको रक्षा हुँदैन भन्नेमा उनीहरु एकमत देखिए ।

विभिन्न चरणमा हुँदै आएको छलफलले बहुमत कम्युनिष्ट शक्ति एक ठाउँमा हुने सम्भावना बढेको एक माओवादी नेता बताउँछन् । सबैको अन्तिम लक्ष्य समाजवाद नै भएकाले समाजवादी केन्द्र बनाएर अघि बढ्न सकिने सबैको साझा बुझाइ रहेको छ । तर, कसरी एकता गर्ने भन्नेमा छलफल अघि बढ्न सकेको छैन, ति नेताले भने ।

समाजवादी केन्द्र बनाउने अभ्यासमा लागेका नेताहरुबीच एमालेलाई के गर्ने ? भन्ने विषयमा समेत छलफल भएको छ । एमालेलाई पनि सँगै लैजानुपर्ने अधिकांशको मत छ । तर, सिंगो एमाले कि ओली बाहेकको एमाले भन्नेमा छलफल अड्किएको हो ।

झलनाथ खनाल र वामदेव गौतम ओली सहितको एमालेलाई एकतामा ल्याउनुपर्ने पक्षमा छन् । तर, प्रचण्ड र माधव त्यसका लागि तयार छैनन् । यदि, ओलीलाई पनि एकतामा ल्याउनुपर्ने भए ओलीले नेकपा हुँदा गरेका गल्तीहरु स्वीकार्दै आत्मलोचना गर्नुपर्ने प्रचण्ड–माधवको धारणा रहेको छ ।

समाजवादी केन्द्र निर्माणको पहलमा केही नेता मात्र छलफलमा देखिएका छन् । तर, एमालेका केही नेता पनि यो प्रकृयामा भित्र भित्रै लागेको बुझिन्छ । बिष्णु पौडेल, घनश्याम भुसाल र पृथ्वीसुब्बा गुरुङहरु पनि यो अभियानमा लागिपरेका छन् ।

एमालेको ठूलो तप्का पूर्व नेकपा एक हुनुपर्ने पक्षमा छन् । तर, अध्यक्ष ओली यो प्रयासमा सकारत्मक छैनन् । नेकपा हुँदा प्रचण्डले खिलित रुपमा लगाएको आरोप फिर्ता लिए सोच्न सकिने उनको अन्तिम अडान रहेको बुझिन्छ । त्यस विषयमा प्रचण्ड र अन्य नेता तयार छैनन् ।

पूर्व नेकपा एकताको प्रयासमा ओली सामेल नहुन सक्छन् । तर, एमालेका धेरै नेता यो प्रकृयामा सामेल हुन तयार रहेको मंलबारको बैठकमा प्रचण्डले ब्रिफिङ गरेका छन् । बैठकले एकता चाहने एमाले नेताहरुलाई पनि साथमा लिएर अघि बढ्ने आधारभूत सहमति कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्