Logo
Logo

निर्मलाकी आमा भन्छिन्–दिलिपसिंहमाथि नै शंका छ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० साउन ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ । प्रहरी अझै अभियुक्तको नजिक पुग्न सकेको छैन ।


निर्मला पन्तको परिवारले अब न्यायको आशा नरहेको बताएको छ । निर्मलाकी आमा दुर्गादेवीले छोरीको हत्या भएको एक वर्ष बितिसक्दा पनि दोषी पत्ता नलाग्दा आफूले आशा मारिसकेको बताइन् । ‘एक वर्ष बितिसक्यो, अब न्यायको आशा छैन,’ उनले भनिन् । निर्मलाका बुबा यज्ञराजले भने सरकारकै कारण हत्यारा पत्ता लाग्न नसकेको बताए । ‘अब छोरीको हत्यारा भेटिँदैन, न्याय पाउने आसै छैन,’ उनले भने, ‘घटनाको अनुसन्धानदेखि घाइतेको उपचारसम्म सरकारले लापरबाही गरेको छ ।’
आफू जताबाट पनि पीडामा रहेको भन्दै दुर्गादेवीले छोरी गुमाएको पीडा अझै बिसेक नभएको सुनाइन् । ‘हरेक दिन खाना पकाउने वेला निर्मलाको याद आउँछ,’ उनले भनिन्, ‘खान मनै लाग्दैन । मलाई जताबाट पनि पिरैपिर छ । पहिले श्रीमान्ले छाडे, छोरी गुमाएँ । अहिले कसैले नोकरी खाई भन्छन्, कसैले सरकारले पैसा दिएपछि चुप लागी भन्छन् । मेरो दुःख मैसँग छ ।’ निर्मलाको बलात्कारपछि हत्याको अभियोगमा प्रहरीले सुरुमै सार्वजनिक गरेका भीमदत्त–१९ बाँगफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टप्रति अझै आफूलाई शंका लाग्नेगरेको दुर्गादेवी बताउँछिन् । ‘उनको बयान र घटनाक्रम धेरै मिलेको छ, मलाई ऊप्रति शंका छ,’ उनले भनिन् । अनुसन्धानमा खटिएका आठ प्रहरीविरुद्ध आफ्नो खुसीले मुद्दा नहालेको उनले बताइन् । ‘केही अधिकारकर्मीले न्याय पाइन्छ भनेपछि दस्तखत गरेकी हुँ,’ उनले भनिन् ।

अहिले दुर्गादेवी भीमदत्त नगरपालिका–२ उल्टाखाममा दुई छोरीका साथ बस्छिन् भने यज्ञराज दोस्री पत्नीका साथ भीमदत्त–१ भाँसीमा बस्छन् । राहतको विषयमा निर्मलाको परिवारमा झगडा भएपछि दुर्गादेवीले ढिलागरी राहत रकम बुझेकी थिइन् । असारदेखि उनलाई नगरपालिकाले दैनिक ज्यालादारीमा कार्यालय सहयोगीको रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्