
ताप्लेजुङ । सफल हुन कडा परिश्रम र मिहेनत चाहिन्छ, भन्ने कुरा ताप्लेजुङका राजु भण्डारीले पुष्टि गरेका छन् ।
उनले सानो उमेर र छोटो समयमै बिमा क्षेत्रमा लोभलाग्दो सफलता हासिल गरेका हुन् । नेपाल लाइफ इन्स्योरेन्सका १ लाख ४० हजार अभिकर्तामध्ये ‘उत्कृष्ट १८’ मा पर्न सफल भएका छन् ।
नम्बर १ मा दोस्रो र ताप्लेजुङमा अभिकर्ता र एजेन्सि मेनेजर दुवै विधामा को पहिलो भए । राजुले अब बीमा र बजार व्यवस्थापन अभियानका अन्तराष्ट्रिय प्रशिक्षक सोनु शर्मासंग ३ दिने आवासीय प्रशिक्षणको मौका पाएका छन् ।
‘बिमालाई नै व्यवसाय बनाएर रातदिन लागिरहेको छु,’ राजुले भने, ‘हालसम्म सहयोग गर्ने सबैप्रति आभारी छु ।’ राजु बिमा गर्ने क्रममा २० भन्दा बढी जिल्ला पुगिसकेका छन् । नेपालमा बिमा गराउने काम निकै कठिन रहेको उनले बताए ।
‘अझै पनि धेरै नेपालीले बिमाको बारेमा बुझ्नुभएको छैन । बुझाउन धेरै मिहेनत गर्नुपर्छ,’ उनी भन्छन्, ‘जीवन बिमाका फाइदा धेरै छन् । सरकारले पनि नागरिकलाई जीवन बिमा गर्न प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ ।’
राजु नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ एजेन्सी मेनेजर हुन् । ताप्लेजुङको फुङिलङ नगरपालिका–९ बुङकुलुङमा जन्मिएका राजु हाल फुङ्लिङ बजारमा बस्दै आएका छन् ।
कक्षा १२ को पढाई सकेपछि बिमामा लागेका थिए । नेपाल लाइफकाे इलाम शाखाका प्रमुख राजु अधिकारीकाे प्रेरणाले जीवन बिमा कम्पनिमा काम गर्न थालेकाे राजुले बताए । बिमा अभिकर्ता पेसा भनेको नाफा कमाउन मात्र नभएर सामजिक काम पनि भएको उनी बताउँछन् ।
‘मैले नाफाका लागि मात्र काम गरेको होइन । यसले सामाजिक सेवा पनि उत्तिकै भएको छ,’ राजुले भने, ‘मेरो उद्देश्य पनि बिमा क्षेत्रबाट समाजमा योगदान दिने हो ।’












