Logo
Logo

मेरो रहर अरुलाई सुन्दर बनाउनु हो-कुसुम श्रेष्ठ, फेसन डिजाइनर


- दृष्टि न्युज/संवाददाता


तीज नजिकिँदै गर्दा बुटिकहरुलाई भ्याइनभ्याई भएको छ । तीजमा ‘मिठो–मिठो खाने’मात्र होइन, ‘राम्रो–राम्रो लाउने’ भन्ने महिलाबीच देखासिकीको प्रतिस्पर्धा बढ्दै गएपछि फाइदा बुटिकलाई भएको छ । सांस्कृतिक तथा धार्मिक आस्था बोकेको पर्व हो तीज । तर, पछिल्लो समय तीज ‘फेसनको पर्व’ समेत बन्दै गएको छ । तीज आउन अझै महिना दिन छ । तर, बुटिकहरुमा १५ दिनअघिबाटै तीजका पहिरन अर्डर आउन थालेको डिल्लीबजारस्थित कुसुम बुटिक सञ्चालिका एवं डिजाइनर कुसुम श्रेष्ठ बताउँछिन् । ‘तीजका लागि अर्डर आइरहेका छन्’ कुसुम बुटिक पुग्दा कुसुमले भनिन्, ‘तीजका लागि भनेर सारी, लेहेँगा, गाउनलगायतका पहिरन अर्डर आइरहेको छ ।’ छोटो समयमै चर्चामा आएको बुटिक हो, कुसुम बुटिक । यो बुटिक पछिल्लो समय सेलिब्रेटीको रोजाइ बन्न थालेको छ । उनै अहिलेकी व्यस्त फेसन डिजाइनर कुसुम श्रेष्ठसँग एमपी सुब्बाको जम्काभेट :

बुटिक राताम्मै देखिन्छ, तीज लागेकै हो ?

तीज अब लाग्न लाग्यो । तीजका लागि पहिरनहरु अर्डर आइरहेको छ । त्यसैले लाग्यो नै भन्नुपर्ला ।

तीज आउन अझै महिना दिनभन्दा बढी छ, अहिलेबाटै अर्डर ?

हो, तर यहाँ एक साता अघिबाटै अर्डर आउन थालेको हो । ढिलो अर्डर गर्दा भ्याउँदैन भनेर पनि होला, सबैले समयमै अर्डर गरिरहेका छन् ।

त्यसोभए हिजोआज भ्याइनभ्याई होइन त ?

तीजका लागिमात्र नभएर अरु पहिरनहरुले गर्दा पनि भ्याइनभ्याई भएको हो । अरुबेला पनि व्यस्त नै हुन्छु किनकि, कुसुम बुटिकमा जति पहिरन तयार हुन्छ, सबै आफ्नै क्रियशनको हुन्छ । त्यसैले व्यस्त हुन्छु ।

कुसुम बुटिकमा कस्तो–कस्तो पहिरन तयारी गरिन्छ ?

फर्मल सारी, लेहेँगा, कुर्था–सुरुवाल र गाउन भइहाल्यो । त्यसबाहेक अर्डरअनुसार क्याजुअल ड्रेसहरु पनि तयार गरिन्छ ।

बुटिक सञ्चालनमा ल्याउनुभएको कति भयो ?

धेरै भएको छैन । ६ महिना हुँदैछ । फेसन डिजाइनिङप्रति रुचि भने पहिल्यैबाट थियो । तर, बल्ल अहिले आएर त्यो रुचि पूरा गर्दैैछु ।

छोटो समयमै कुसुम बुटिक कसरी चर्चित बन्यो ?

ग्राहकले मेरो क्रियशन र सेवा रुचाएर होला । एकपटक आएपछि जो पनि मेरो बुटिकमा आउने गर्नुहुन्छ । बुटिक सञ्चालनमा ल्याएको दोस्रो दिनबाटै म भ्याइनभ्याई भएँ ।

सुनिएअनुसार यहाँ सेलिब्रेटीहरु पनि आउँदारहेछन् है ?

आउनुहुन्छ । चर्चित गायिका अञ्जु पन्त, गायक युबराज चौलागाइँ, सुनिल क्षेत्री, अभिनेत्री प्रियंका कार्की, मोडल सुस्मा लामालगायतको पहिरन बनाएकी छु । अञ्जु पन्त त नियमित आउनुहुन्छ ।

फेसन डिजाइनिङको कोर्ष कहाँ गर्नुभयो ?

इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी) बागबजारमा बेसिक कोर्ष गरेकी हुँ । त्यसपछि घरपरिवारको सर्पोटले बुटिक सञ्चालनमा ल्याएकी हुँ ।

तपाइँको बुझाइमा फेसन के हो ?

मैले जानेको र बुझेको भनेको समय र परिस्थितिअनुसार आफूलाई कम्फाटेवल लाग्ने पहिरन नै फेसन हो । आफूलाई सुहाउने पहिरन र रंगमा कम्फाटेवल हुनुपर्छ ।

तपाइँ कतिको फेसन कन्सस हुनुहुन्छ ?

छैन । मेरो रहर र रुचि अरुलाई सुन्दर बनाउनु हो । मैले तयार गरेको पहिरनले अरुलाई सुन्दर देखियो भने आत्मसन्तुष्टि हुन्छ । म त नर्मल क्याजुअल मन पराउँछु ।

एकल शोहरु गर्नुभएको छ कि छैन ?

एकल शो अहिलेसम्म गरेकी छैन । तर, निकट समयमै गर्दैछु । थुप्रै इभेन्टहरुका लागि भने पहिरन तयार गरेकी छु ।

फेसन डिजाइनरको भविष्य कस्तो देख्नुहन्छ ?

राम्रो छ । अहिले सेलिब्रेटीहरुका मात्र नभएर सबैमा फेसन सेन्स बढ्दै गएको छ । त्यसैले गर्न सक्यो भने अबका दिनमा फेसन डिजाइनर र बुटिकको भविष्य राम्रो छ ।

प्रतिक्रिया दिनुहोस्