Logo
Logo

देउवाको डरलाग्दो ‘खुलासा’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । देशको सिष्टममा चलेको र नागरिकको विश्वास भएको एउटै संस्था छ– लोकसेवा आयोग । आयोगभित्र यस्तो सिस्टम बनाइएको छ, जसले आयोगको परीक्षालाई निष्पक्ष बनाएको छ ।

तर, त्यही एउटा संस्थालाई पनि धरासायी बनाउने खेल सुरु भएको छ । लोकसेवा आयोगलाई कमजोर बनाउन डलरको समेत लगानी भएको छ । समावेशीताको नाममा भइरहेको लोकसेवाविरुद्धको आन्दोलनमा विभिन्न आइएनजिओहरुको लगानी रहेको रिपोर्ट राष्ट्रिय अनुसन्धान विभागले सरकारलाई बुझाएको छ ।

सो आन्दोलनमा विभिन्न संघसंस्थामा आबद्ध जनजातिहरु मात्र थिए । मधेसी, पिडिएको क्षेत्र, दलित समुदाय कमै थिए । त्यसकारण समावेशिताको नाममा आयोग र देशलाई नै कमजोर बनाउने उद्देश्यले सो आन्दोलनमा आइएनजिओहरुले लगानी गरेका थिए । डा.बाबुराम भट्टराईजस्ता नेताहरुसमेत जातिय मतको लोभमा यस्तो आन्दोलनमा लागेका थिए । देशभरिको कर्मचारी भर्ना एकमुष्ट गर्नुपर्ने र त्यसो गर्दा समावेशिताको संख्या बढ्दैन भन्दै कुतर्क गरेर सर्वसाधरणलाई भ्रमित बनाई आन्दोलन गरिएको थियो ।

विदेशीहरु नेपाललाई कमजोर बनाएर फाइदा लिन सक्रिय रहेको कुरा त धेरै वर्ष पहिलेदेखि नै प्रष्ट भइसकेको छ । तर, नेपालकै जिम्मेवार नेताहरुसमेत यस्तै गतिविधिमा संलग्न हुन थालेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत लोकसेवा आयोगलाई कमजोर बनाउने प्रयास गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा उनले लोकसेवा आयोगमा समेत सोर्सफोर्स चल्न थालेको भनेर विवादास्पद अभिव्यक्ति दिएका छन् । जसबाट आयोगका अधिकारी मात्र होइन, समग्र कर्मचारीहरुसमेत रुष्ट भएका छन् ।

सरकारको आलोचना गर्ने क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । तीन पटक प्रधानमन्त्री भइसकेका देउवालाई लोकसेवा आयोगको सिष्टमबारे थाहा हुनुपर्ने हो । जहाँ अन्तर्वार्तासमेत निष्पक्ष होस् भनेर निश्चित मापदण्ड बनाइएको छ । जसकारण आयोगका कुनै पनि भर्ना विवादमा परेका छैनन् । तर, एक जिम्मेवार नेताले नै यस्तो आरोप लगाएपछि स्वभाविक रुपमा सर्वसाधरणमा आयोगप्रतिको विश्वासमा शंका उत्पन्न भएको छ ।

तर, देउवाको यो बोलीप्रति कांग्रेसकै नेताहरुले समेत आश्चर्य मानेका छन् । पूर्व प्रशासकहरुले कडा टिप्पणी गरेका छन् । पूर्वसचिव शारदाप्रसाद त्रितालले देउवाको यस्तो भनाइ दुभाग्यपूर्ण भएको बताउँछन् । उनी भन्छन््, ‘कि त बुढ्यौलीको कारण उहाँको स्मरणशक्ति कम भएको छ, नत्र उहाँले प्रधानमन्त्री हुँदा लोकसेवामा लिखित पास गर्नेहरुको लागि भनसुन गर्ने गर्नुहुन्थ्यो । र अहिले उहाँको लामो अनुभवका आधारमा उहाँले गर्ने गरेको अभ्यास ओकलिएको हो । यदि यसो हो भने उहाँलाई उहाँका आसेपासे र चम्चाहरुले गुमराहमा राखेर उहाँको नामबाट आर्थिक वा अन्य अनुचित फाइदा उठाइरहेका छन् भन्ने पनि स्पष्ट हुन्छ ।’

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सोमबार एक लेखमार्फत आयोगलाई सिध्याउने ग्रान्डडिजाइन भइरहेको बताएका छन् । पपुलिज्मका नाममा देशमा योग्यताक्रम भत्काउने खेल भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्