Logo
Logo

२८औं अन्तर्राष्ट्रिय आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै


378
Shares

काठमाडौं । नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवस’ संयुक्त रुपमा एक हप्तासम्म मनाउने भएका छन् ।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्व आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।

महासंघको संघीय कार्यालय भीमसेनगोलामा ‘२८औं विश्व आदिवासी दिवस–२०२२ मूल समारोह’ले पत्रकार सम्मेलन गर्दै यस वर्ष पनि विगतका वर्षहरु जस्तै विभिन्न कार्यक्रम गरेको विश्व आदिवासी दिवस मनाउन लागिएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले लामो समयसम्मको आन्दोलनका क्रममा पनि अधिकार सुनिश्चित हुन नसकेको भन्दै उत्सवको रुपमा मनाइने कार्यक्रममार्फत पनि अधिकार सुनिश्चिततका लागि राज्यलाई दबाब दिइने बताए ।

अध्यक्ष शेर्पाले भने– ‘हामी आदिवासी जनजाति समुदाय लामो समयदेखि आन्दोलनमा छौं । तर, हाम्रो अधिकार सुनश्चित भएको छैन । त्यसैले हामीले मनाउने उत्सवहरुमार्फत पनि हामी हाम्रो मागहरु राज्यलाई सुनाउन चाहन्छौं, देखाउन चाहन्छौं ।’

दिवसको अवसरमा यस वर्ष मूल समारोहको रुपमा महासंघले साउन २४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम गर्दैछ । महासंघका अनुसार उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिको रुपमा सहभागी हुने छन् ।

यसका साथै दिवसको अवसर पारेर महासंघका सम्बन्धन प्राप्त संस्था र आदिवासी जनजातिजन्य ७ वटा संस्थाहरुको अगुवाइमा विभिन्न कार्यक्रम हुने भएको छ । मूल समारोहले पत्रकार सम्मेलनमार्फत ति संस्थाहरुको नेतृत्वमा हुने कार्यक्रमहरुको विषय, स्थान र समय समेत सार्वजनिक गरेको छ ।

दिवसकै सन्दर्भमा नेपाल आदिवासी जनजाति चलचित्र महासंघले साउन २० गते नेपाल पर्यटन बोर्डमा ‘चलचित्र प्रर्दशनी तथा विषेश सांस्कृतिक कार्यक्रम’ गर्ने भएको छ भने राष्ट्रिय आदिवासी जनजति महिला महासंघले साउन २१ गते काठमाडौंमै ‘आदिवासी जनजाति ज्ञानको संरक्षण र पुुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

दिवसको अवसर पारेर नेपाल मगर संघले काठमाडौंमा साउन २१ गते ‘मगरात सभ्यतामा पहिचानको आधारहरु विषयक’ विचारगोष्टी गर्दैछ भने किरात राई यायोख्याले साउन २२ गते ‘३५औं स्थापना दिवस तथा प्रदेश नं. १ किरात प्रदेश’ विषयमा बहस गर्दैछ ।

२८औं विश्व आदिवासी दिवस र आफ्नो २३औं स्थापना दिवसलाई सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले काठमाडौंमा साउन २३ गते ‘आदिवासी जनजाति आन्दोलनको समीक्षा र अबको कार्यदिशा’ विषयक अन्तरक्रिया गर्ने भएको छ ।

दिवसकै सन्दर्भ पारेर आदिवासी जनजाति युुवा महासंघ नेपालले प्रदेश १ को इलाममा साउन २८ गते ‘आदिवासी जनजातिको मुुद्धाहरुमा आधारित नेतृत्व निर्माण’ विषयक प्रशिक्षण कार्यक्रम गर्ने तालिका महासंघले सार्वजनिक गरेको छ ।

विश्व आदिवासी दिवसलाई नै सन्दर्भ पारेर इण्डिजिनियस टेलिभिजनले साउन २० देखि २७ गतेसम्म ‘आदिवासी जनजातिहरुको सवाल एक हप्ते टेलिभिजन बहस कार्यक्रम’ संचालन गर्ने भएको छ ।

विश्वका आदिवासीहरुले हरेक वर्षको ९ अगष्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउँदै आएको छन् ।

प्रतिक्रिया दिनुहोस्