Logo
Logo
टिप्पणी

प्रचण्डले धम्क्याउँदा गाली, ओलीले धम्क्याउँदा पररर ताली !



काठमाडौं । स्थानीय निर्वाचनताका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्थे– ‘गठबन्धनलाई भोट नहाले देश दुर्घटनामा जान्छ ।’

आमनिर्वाचनको मिति घोषणा भएपछि भने प्रचण्डको बोली सर्लक्कै टिपेका छन्, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले । र, भन्न थालेका छन्– ‘एमालेलाई भोट नहाले देश दुर्घटनामा जान्छ ।’

दुवै नेताले आफ्नो पक्षमा भोट मागेका हुन् । सिधै भन्ने हो भने घुमाउरो भाषामा मतदातालाई धम्क्याएका हुन् ।

स्थानीय निर्वाचनको बेला सत्तारुढ पाँच दलीय गठबन्धनले वैशाख २२ गते चितवनको भरतपुरमा निर्वाचन सभा आयोजना गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ‘गठबन्धनलाई मतदान नगरे देश दुर्घटनातर्फ जान्छ’ भनेका थिए ।

प्रचण्डको उक्त अभिव्यक्तिपछि एमाले कार्यकर्ता सारा छोडेर प्रचण्डलाई गाली गर्न दौडेका थिए । छोरीलाई जिताउन प्रचण्डले मतदाता धम्क्याए सम्म भन्न भ्याए ।

प्रचण्डले उक्त भाषणमा गठबन्धनलाई भोट नदिए देश दुर्घटनामा जानुका कारण पनि सुनाएका थिए । उनले भनेका थिए– ‘प्रतिगमन रोज्ने शक्तिहरु अझै पनि सल्बलाइरहेका छन् । संविधान मास्न खोज्नेहरु पनि चुनावमा छन् । त्यस्तो शक्तिले जित्यो भने प्रतिगमन दोहोरिन्छ । त्यस्तो अवस्थामा देश दुर्घटनामा जान्छ । त्यसैले त्यस्ता शक्तिहरुलाई परास्त गर्न गठबन्धनलाई मतदान गर्नुको विकल्प छैन ।’

जित र हारको दौडसामु प्रचण्डको प्रष्टीकरण कामयावी भएन । प्रचण्डले मतदाता धम्क्याएको आरोप लागिरह्यो । त्यतिकै निर्वाचन सम्पन्न भयो । गठबन्धनले राम्रै नतिजा प्राप्त गर्यो ।

०००

मंसिर ४ का लागि आम निर्वाचनको मिति घोषणा भइसकेको छ । राजनीतिक दल निर्वाचनको तयारीमा जुटिसकेका छन् । र, एक अर्कालाई खुइल्याउने क्रम पनि सुरु भइसकेको छ । अरुलाई नराम्रो भनेर आफू राम्रो हुने नेताहरुको नीतिले निरन्तरता पाएको छ ।

प्रचण्ड जापान भ्रमणमा छन् । ओली दैनिकजसो पार्टीको कार्यक्रममा व्यस्त छन् । आइतबार पार्टीको एक कार्यक्रम सम्बोधन गरे । सोमबार पनि सम्बोधन गरे । दुवै सम्बोधनमार्फत मतदातालाई धम्क्याए– ‘एमालेलाई भोट नहाले देश दुर्घटनामा जान्छ ।’
एमालेलाई भोट नदिए देश दुर्घटनामा जानुको कारणबारे ओलीको प्रष्टोक्ति– ‘परमादेशी सरकार बनेपछि देश खोक्रो भएको छ । अबको केही महिना परमादेशी सरकार रह्यो भने देश हुन्छ कि हँुदैन थाहा छैन । देशलाई संकटबाट बचाउनका लागि एमालेलाई भोट दिनुको विकल्प छैन । एमालेलाई भोट नदिए देश दुर्घटनामा जान्छ ।’

०००

प्रचण्ड र ओलीको बोली एउटै हो । एक शब्द मात्र फरक छ । प्रचण्डले ‘गठबन्धन’ भनेका थिए, ओली ‘एमाले’ भन्दैछन् । दुवैले घुमाएर मतदाता धम्क्याएका हुन् ।

दलीय प्रतिस्पर्धा हुने व्यवस्थामा धेरै दल निर्वाचनमा सहभागी हुन्छन् । हरेक दल जनतासामु आफ्ना एजेण्डा लगेर जान्छन् । एजेण्डा सुनाएर भोट माग्छन् । मनपरेको एजेण्डा बोकेका राजनीतिक दललाई मत दिन तयार हुन्छन् ।

लोकतन्त्रमा जनता जनार्दन हुन्छन् । रोज्ने अधिकार जतामा निहीत हुन्छ । ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेर मत माग्नु धम्क्याउनु नै हो । ‘देश दुर्घटनामा जान्छ’ भन्नु धम्क्याउनु नै हो । यस अर्थमा प्रचण्ड र ओली दुवैले जनतालाई धम्क्याएका हुन् ।

वास्ताविकता के हो भने– प्रचण्ड र ओली दुवैले बोलेको सत्य होइन । प्रचण्डले भने जस्तो एमालेले जित्दैमा देश दुर्घटनामा जान्थ्यो भन्ने होइन । नेपाली जनता त्यति सजिलै सारा उपलब्धि गुम्न दिने पक्षमा छैनन् र हुँदैनन् ।

ओलीले भने जस्तै आगामी निर्वाचनमा एमालेले हार्दैमा देश दुर्घटनामा जान्छ भन्ने होइन । हामीले अवलम्बन गरेको संसदीय व्यवस्थामा प्रतिपक्ष बलियो भूमिकामा हुन्छ । देश नै संकटमा पर्ने अवस्थमा प्रतिपक्ष मात्र होइन जनता एक मिनेटमा सडक निस्कन्छन् ।

त्यसैले, प्रचण्ड र ओली दुवैले बोलेको सत्य होइन । निर्वाचनमार्फत केही सिट बढी हातपार्न मात्र यस्तो बोलेका हुन् ।

०००

रमाइलो कुरा । हिजो प्रचण्डले बोल्दा मतदाता धम्क्यायो भन्नेहरु आज चुपचाप छन् । ‘एमालेलाई भोट नदिए देश दुर्घटनामा जान्छ’ भन्दै गर्दा ओलीले मतदाता धम्क्याएको कसैलाई लागेको छैन !

प्रचण्डले बोल्दा न्वारानको बल निकालेर गाली गर्नेहरु ओलीले सोही कुरा बोल्दा परररर ताली बजाइरहेका छन ! यसका अनेक कारण छन् । मुख्य कारण दास मानसिकता हो ।

नेपाली राजनीतिक दलका नेता कार्यकर्तामा दास मानसिकता व्यवस्त छ । आफ्नो नेताको त … पनि वास्नादार ! त्यसैले त अरु नेताले बोल्दा गाली गर्नेहरु आफ्नो नेताले सोही कुरा बोल्दा परररर ताली बजाउँछन्, गलत नै किन नहोस !

प्रतिक्रिया दिनुहोस्