Logo
Logo

बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक, सिट बाँडफाँटबारे छलफल



काठमाडौं । सत्ता गठबन्धनले प्रदेश र संघीय निर्वाचनमा सिट बाँडबाँटबारे मोडालिटी बनाउन गठन गरेको कार्यदलको बैठक सुरु भएको छ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक जारी छ ।

साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिनेगरी गठबन्धनले कार्यदल बनाएको हो । बैठकमा गठबन्धनको सिट बाँडफाँटको आधार र मापदण्डको विषयमा छलफल हुने कार्यदल सदस्यका एक सदस्यले बताए । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलको तयारी छ ।

कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुईरदुई जना सदस्य छन् । कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा रहेका छन् ।

प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्