Logo
Logo

नेताको आडमा विकास निर्माण रोक्ने ठेकेदारलाई छोड्दैनौँ : भौतिक पूर्वाधारमन्त्री



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारलाई ‘तह लगाउने’ चेतावनी दिएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारलाई तह लगाउने चेतावनी दिएका हुन् ।

मन्त्रालयले त्यस्ता ठेकदारहरूको खोजी गरिरहेको उनले जानकारी दिए । मन्त्री राईले ठेक्का लिने तर समयमा काम नसक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरूलाई सरकारले नछोड्ने बताए । उनले सरकारले कुनै पनि नेताको नजिकको ठेकदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने चेतावनी दिए ।

अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताए । मन्त्री राईले मन्त्रिपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

“गल्ती गर्ने ठेकेदारलाई छोड्ने कुरा आउँदैन । सरकार कुनै पनि नेताको आडमा बसेर विकास निर्माणमा बेथिति निम्तयाउनेलाई छोड्दैन । विकास निर्माणमा ठेकदारहरूको बेथिति छ । को कसको भन्ने ठेकेदारहरूले विभिन्न नेताहरूको खोल ओडेर बेथिति निम्त्याएका छन्,” उनले भने, “हामी त्यसको खोजी गर्दै छौं । तपाईंहरू ढुक्क हुनुस् ठिक पार्छौं ।”

मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको बताए । उनले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भइरहेको दाबी गरे । मन्त्री राईले कही कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाइका साथ कार्यान्वयन गर्न तयार रहेको बताए । वैज्ञानिक भाडादर सरकार, निजी क्षेत्र र विज्ञहरू राखेर लागु गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्