Logo

गठबन्धनको फाइदा उठाउने दाउमा कांग्रेस



काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचन मिति घोषणा गरेसँगै राजनीतिक गतिविधि बढ्न थालेको छ ।

निर्वाचन आयोगले मतदाता नामावली संकल बन्द गरेको छ भने दल दर्ताको लागि आवेदन खुलाएको छ । प्रमुख राजनीतिक दल आन्तरिक तयारीमा जुटेका छन् । विभिन्न पार्टीका शीर्ष नेताका साथै उम्मेदवार हुन खोज्ने नेता निर्वाचन केन्द्रित गतिविधिमा जुट्न थालेका छन् । को कहाँबाट निर्वाचन लड्ने भन्ने चर्चा पनि हुन थालेको छ ।

आउँदो मंसिर चारको निर्वाचनमा तालमेल गर्ने सत्तारुढ पाँच दलीय गठबन्धनबीच सहमति भइसकेको छ । सोही सहमतिबमोजिम सीट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदल बनेको छ । कार्यदलको पहिलो बैठक पनि आज (सोमबार) बसिसकेको छ । बैठकले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको छ ।

२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै एकै स्थानमा रहेका नेपाली कांग्रेससहित तत्कालीन नेकपाका दुई शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु त्यसयता सँगसँगै छन् ।

पाँच दलको सत्ता गठबन्धनले यसअघि स्थानीय तहको निर्वाचनमा भाग लिइसकेका छन् । त्यसको सबैभन्दा धेरै लाभ कांग्रेसलाई मिल्यो । गठबन्धन कांग्रेसलाई फाप्यो ।

माओवादी केन्द्रले पनि गठबन्धनबाट केही लाभ उठायो । अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा यसपटक केही बढी पालिका जित्यो । जनता समाजवादी र एकीकृत समाजवादीलाई पनि गठबन्धनले राजनीतिक इज्यत जोगाइदियो । भलै उनीहरुले खोजेजस्तो परिणाम हात पार्न सकेनन् ।

सबैभन्दा ठूलो घाटा भने नेकपा एमालेलाई भयो । २०७४ को स्थानीय तहमा बहुमत स्थानमा जित हात पारेको एमाले यसपटकको स्थानीय निर्वाचनमा भने खुम्चियो । तर, एमाले अत्यन्तै कमजोर पनि देखिएन । केही पालिकाहरुमा गठबन्धन भित्रै हानथाप हुँदा त्यसको फाइदा एमालेलाई मिल्यो ।

स्थानीय निर्वाचनमा प्रमुखमा ३ सय २९ जित्दै कांग्रेस पहिलो बन्यो भने २ सय ६ सहित एमाले दोस्रो बन्यो । त्यस्तै माओवादी केन्द्रले १ सय २१, जसपाले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६ स्थानीत तह प्रमुख जिते ।

लोकप्रिय मतमा पनि कांग्रेस पहिलो बन्यो । कांग्रेसले नेकपा एमालेले भन्दा झण्डै एक लाख ४४ हजार ५९१ मत बढी पायो ।
निर्वाचन आयोगको अनुसार कांग्रेसले ३९ लाख ५६ हजार १९३ अर्थात ३४.२८ मत पायो भने दोस्रो बनेको एमालेले ३८ लाख ११ हजार ६०२ अर्थात ३३.०३ प्रतिशत मत पायो । त्यस्तै माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाउँदा जसपाले पाँच लाख ७७ हजार ३८०, एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ मत पायो ।

स्थानीय तह निर्वाचनमा पहिले दल बनेको कांग्रेस निकै उत्साहित बनेको छ । हैसिएको छ । आगामी मंसिरमा हुने निर्वाचनमा पनि स्थानीय तहको निर्वाचनमा जस्तो फाइदा उठाउने दाउमा कांग्रेस देखिन्छ । त्यसैले कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा पनि ठूलो हिंसा दाबी गर्न थालेको छ ।

गठबन्धनमा आफूले कति सिट दाबी गर्ने भन्नेबारे आज प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले बालुवाटारमा पदाधिकारीहरुको बैठक राखे । बैठकले कांग्रेसले एक सय सिट आफूले राखेर ६५ वटा सिटमा मात्र गठबन्धनका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।

बैठकमा उपस्थित एक जना पदाधिकारीले भने, ‘एक सय सिट कांग्रेसले राख्छ । बाँकी ६५ सिट अन्य दलहरुबीच तालमेल गरेर अघि बढ्छ ।’ उनका अनुसार प्रदेशसभाको सिट संख्या पनि यही अनुपातमा राख्ने पदाधिकारीहरुबीच सहमति भएको छ ।
तर माओवादी लगायत अन्य दलले कांग्रेसको प्रस्ताव मान्ने सम्भावना छैन । यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठिरहेको छ ।

कांग्रेले ठूलो हिस्सा दाबी गरेपछि आमागी निर्वाचनको सिट बाँडफाँडका लागि गठबन्धनलाई निकै सकस पर्ने देखिन्छ । गठबन्धन गरेर जान सजिलो नभएको स्वयं गठबन्धनका नेताहरु बताउँछन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दम्भ देखाएको एकीकृत समाजवादी र नेकपा माओवादीसहितका सत्ता साझेदारहरुले आरोप पनि लगाउने गरेका छन् । त्यस्ता आरोपहरुलाई चिर्दै आगामी निर्वाचनबाट फाइदा लिन कांग्रेसलाई चुनौती रहेको छ ।

आफूहरुलाई कांग्रेसले हेप्न खोजे सत्ता गठबन्धनभित्रै उपगठबन्धन बनाउने अन्य दलहरुले पनि बताइरहेका छन् । गठबन्धनभित्रै छुट्टै मोर्चा बनाउने केही नेताहरूले बताउँदै आएका छन् । माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान समेटेर समाजवादी केन्द्र बनाउनेबारे पनि चर्चा चल्दै आएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनवको अन्तिम समयमा यति लिने भए लेउ नत्र हुँदैन भन्ने अवस्था आउन सक्ने भन्दै आफ्नो शक्ति निर्माण गरेर अघि बढ्नु पर्ने बताइरहेका छन् ।

स्थानीय तह निर्वाचनमा गठबन्धनले गर्दा पहिलो पार्टी बनेको कंग्रेस माओवादी, एकीकृत समाजवादी र जसपालाई मिलाएर लगेर आफू ठूलो दल बन्ने र एमालेलाई साइज राख्दै आगामी सरकारको नेतृत्व गर्ने दाउमा छ । त्यसका लागि उसले सहयात्री दललाई चिढ्याएर भन्दा साथै लिएर अघि बढ्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्