
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का साउन २४ गते (अगस्ट ९ ) मा छिमेकी राष्ट्र चीन भ्रमणमा जाने भएका छन् ।
चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन् । परराष्ट्रमन्त्री खड्का अगस्ट ९ देखि ११ सम्म चीन भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले गत साता सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएयता यो उनको पहिलो चीन भ्रमण हुनेछ। दुई देशका परराष्ट्रमन्त्रीहरूले आ-आफ्ना प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गर्ने औपचारिक भेटवार्ता अगस्ट १० अर्थात् बुधवार चिङ्दाओ सहरमा हुने विज्ञप्तिमा उल्लेख छ।
गत साता अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपश्चात् अहिले दुई महाशक्ति देशबीच तनाव बढ्दो छ। त्यसैको पृष्ठभूमिमा नेपाली परराष्ट्रमन्त्री चीन जान लागेका छन्।