
काठमाडौं । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएको छ । पाँचदलीय गठबन्धन सिट बाँडफाँडमा जुटेका छन् । प्रमुख प्रतिपक्षी एमाले भने एक्लै निर्वाचन लड्ने भन्दै आएको छ ।
तर, पनि कमल थापा र राजेन्द्र लिङदेनहरूसँग तालमेल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली भित्रभित्रै सक्रिय बनेका छन् । दुई राप्रपासँग तालमेल नगर्दा आफूसमेत हार्ने देखेपछि ओलीले भएभरको बल लगाएर थापा र लिङदेनसँग तालमेलको कोसिस गरिरहेको स्रोतले बताएको छ ।
ओली कम्युनिष्ट सिद्धान्त र विचारभन्दा धर्मप्रति आस्थावान देखाउन थालेका छन् । दुबै राप्रपाको एजेन्डा ‘हिन्दुधर्म’ पछिल्लो समय ओलीले बोक्न थालेका छन् । त्यसैको शिलशिलामा गत साता पशुपतिनाथको मन्दिरमा आरतीमा उपस्थित भएर ओलीले राप्रपाको मन जित्न खोजेका छन् । स्थानीय तह निर्वाचनमा आफ्नै नगरपालिका दमक एमालेले गुमाएपछि ओलीको सातो गएको छ ।
कम्युनिष्ट पार्टीको सिद्धान्त र विचारलाई तालाञ्जली दिँदै हिडेको एमालेसँग चुनावी एजेन्डा छैन । २०७४ सालमा माओवादीसँग गठबन्धन गर्दा एमालेले जुन हैसियत पाएको थियो, त्यो सम्भावना अहिले छैन । त्यसमाथि एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेपछि एमाले कमजोर बनेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले पनि एमालेको हैसियत देखाइ दिएको छ ।
झापा क्षेत्र नं. ५ ओलीको निर्वाचन क्षेत्र हो । ०७४ सालमा ५७ हजार मत ल्याएर ओलीले चुनाव जितेका थिए । त्यतिबेला ओलीलाई माओवादी र राजेन्द्र लिङ्देनको सहयोग थियो । गत स्थानीय निर्वाचनमा झापा ५ का वडाध्यक्षको मतपरिणाम हेर्दा राप्रपा अध्यक्ष लिङ्देनको सहयोग विना ओली स्वयंले चुनाव जित्ने लक्षण देखिदैन । त्यसैले ओलीले कार्यकर्तालाई पाखा लगाएर भएपनि राप्रपासँग चुनावी तालमेल गर्न खोजेका छन् । राप्रपालाई खुसी पार्नकै लागि ओलीले हिन्दुधर्मको एजेन्डासमेत अघि सार्दै छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा झापा क्षेत्र नं. ५ का एमाले वडाध्यक्षहरूले पाएको मतपरिणाम हेर्दा एमाले ४१ हजार ६ सय १९, कांग्रेस २२ हजार २२, माओवादी १० हजार ७ सय ८८, राप्रपा ८ हजार ३ सय ५३, एकीकृत समाजवादी पार्टीको मत १९ सय ८८ रहेको छ ।
यही मतपरिणाम जोड्दा गठबन्धनको पक्षमा ३४ हजार ७ सय ९८ मत देखिन्छ । यसमा राप्रपाको मत जोड्ने हो भने ओलीको विपक्षमा ४३ हजार १ सय ३१ मत हुन आउँछ । झापा ५ मा राप्रपा निर्णायक भएको हुँदा ओलीले राप्रपाविना चुनाव जित्न गाह्रो छ ।
ओलीको क्षेत्रमा मात्रै होइन, एमालेलाई हरेक क्षेत्रमा मंसिर ४ गत हुने निर्वाचन जित्न कठिन छ । चुनावमा एमालेका पदाधिकारीहरू नै सुरक्षित छैनन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङको क्षेत्र पनि कमजोर देखिएको छ ।
आगामी निर्वाचनमा पाँचदलीय गठबन्धनसँग फराकिलो मतान्तरले हार्ने तथ्यांक देखेपछि एमाले नेताहरूको निद्रा नै हराएको छ । एमाले उपाध्यक्षहरू रामबहादुर थापा, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य हार्ने चुनाव नलड्ने मनस्थितिमा छन् । महासचिव शंकर पोखरेलले चुनावी अभियान संचालन गर्ने भन्दै समानुपातिकमा बस्न खोजेका छन् ।
पाँचदलीय गठबन्धनसँग पराजित हुने निश्चित भएपछि सकभर गठबन्धन तोडाउन खोज्ने र गठबन्धन कायमै रहे समानुपातिकमा बस्ने पोखरेलको चाहना छ । सचिवहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्माकुमारी अर्यालको क्षेत्रमा पनि पाँचदलीय गठबन्धनको मत धेरै छ । उनीहरूको चाहना पनि समानुपातिकमै छ । तर, एमालेमा सामूहिक निर्णयभन्दा ओलीको चाहनाअनुसार चल्नुपर्ने भएकाले ओलीलाई खुसी पार्ने होड नै चलेको छ ।
काठमाडौं क्षेत्र नं. ५ बाट निर्वाचन जितेका ईश्वर पोखरेललाई पनि यसपटक निर्वाचन जित्न गाह्रो छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा ५ नं. क्षेत्रमा एमाले वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत १९ हजार ७ सय ३, कांग्रेसले १४ हजार ८ सय ५३, माओवादीले ११ सय ६८ र एकीकृत समाजवादीले १८ सय २७ मत ल्याएका थिए । त्यसमा जसपाको ५८ र राप्रपाको २८ सय २२ मत जोड्ने हो भने एमालेको विपक्षमा २६ हजार ६ सय ३ मत देखिन्छ । यस क्षेत्रमा पनि राप्रपा निर्णायक देखिन्छ ।
विष्णु पौडेलले निर्वाचन क्षेत्र रुपन्देही २ मा गत स्थानीय तह निर्वाचनमा एमाले दोस्रो स्थानमा झरेको छ । ०७४ को निर्वाचनमा विष्णु पौडेलले ४४ हजार ९ मतसहित कांग्रेसका युवराज गिरीलाई आधा मतान्तरमा पराजित गरेका थिए । तर, गत स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले ३४ हजार ९ सय ५९ मत ल्याउँदा एमालेले मात्र ३३ हजार १ सय ८७ मत ल्याएको छ ।
यस्तै, माओवादीले ३ हजार १ सय ८८, एकीकृत समाजवादीले १३ सय ८२ र जसपाले १ सय ८३ मत ल्याएका छन् । गठबन्धनविनै पछि परेकाको अवस्थामा विष्णु पौडेलले पराकिलो मतान्तरले हार्ने अवस्था रहेको विश्लेषण गरिएको छ ।
चितवन क्षेत्र नं. १ बाट ०७४ को निर्वाचनमा ५० हजार ८ सय १६ मत ल्याएका सुरेन्द्र पाण्डे पनि यसपटक चुनाव जित्न नसकिने भयो भन्दै निराश छन् । चितवन १ नं. क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले ३९ हजार ६ सय ६, कांग्रेसले ३६ हजार ७ सय ८३, माओवादीले ५ हजार ५ सय ८ र एकीकृत समाजवादीले ४ हजार ५ मत ल्याएका थिए । पाँचदलीय गठबन्धन हुँदा पाण्डले पराकिलो मतान्तरले हार्ने देखिन्छ ।
यसैगरी, गुल्मी क्षेत्र नं. १ बाट ०७४ सालको निर्वाचनमा ३७ हजार मत ल्याएर जितेका प्रदीप ज्ञवालीको अवस्था पनि कमजोर छ । वैशाख ३० गते त्यस क्षेत्रका वडाध्यक्षका उम्मेदवारले पाएको मत एमाले ३५ हजार ७ सय १, कांग्रेस ३१ हजार २ सय ९४, माओवादी ४ हजार ९ सय ४१, राजमो १६ सय, एकीकृत समाजवादीको ४ सय ९७ जोड्दा गठबन्धनको पक्षमा ३८ हजार ३ सय ६१ देखिन्छ ।
गुल्मी २ मा गोकर्ण विष्टको अवस्था पनि कमजोर देखिन्छ । ०७४ को निर्वाचनमा ३४ हजार ६ सय १८ मत ल्याएको गुल्मी क्षेत्र नं. २ मा गत स्थानीय निर्वाचनमा एमाले वडाध्यक्षहरूले ३१ हजार २ सय ५३ मत ल्याएका छन् । गुल्मी २ मा कांग्रेसले २९ हजार ८ सय २१, माओवादीले १८ सय ४१, एकीकृत समाजवादीले ६ सय ५८ मत ल्याएका छन् । गठबन्धनको मत जोड्दा ३२ हजार ३ सय २० पुग्छ ।
काभ्रे क्षेत्र नं. २ मा गोकुल बाँस्कोटा कमजोर देखिन्छन । ०७४ सालमा ५८ हजार ४ सय २७ लोकप्रिय मत ल्याएर जितेका बाँस्कोटाको निर्वाचन क्षेत्रमा एमाले वडाध्यक्षहरूले ४५ हजार ५ सय ४१, कांग्रेस ४५ हजार ४ सय ४६, एकीकृत समाजवादी ८ हजार ६ सय ७६, माओवादी ६ हजार ३ सय ७० जोड्दा गठबन्धनको पक्षमा ६० हजार ५ सय २ मत देखिन्छ ।
यी उदाहरणले के देखाउँछ भने, ०७४ सालमा एमालेले माओवादीको बलमा प्रत्यक्षमा ८० सिट जितेको थियो । अब मंसिर ४ गते हुने निर्वाचनमा माओवादी अलग भएको, एमाले विभाजन भएको र कांग्रेससँग पाँचदलीय गठबन्धन कायम भएको अवस्थामा १ सय ६५ सिटमा एमालेले कति सिट जित्ला भन्ने अनुमान गर्न गाह्रो छ ।
०७४ सालमा माओवादीसँग एमालेले गठबन्धन गर्दा थोरै मतको अन्तरले धेरै ठाउँमा कांग्रेसलाई हराएको थियो । जसका कारण ०७४ सालमा कांग्रेस २३ सिटमा खुम्चिएको थियो । २०७९ मा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच गठबन्धन भएका कारण कांग्रेसले धेरै सिट जित्ने अनुमान गर्न सकिन्छ ।
एमालेको मुख्य प्रतिद्धन्दी कांग्रेस देखिएपछि गठबन्धनका कारण कांग्रेसले ७० सिटभन्दा बढी जित्ने आँकलन गरिएको छ । बाँकी ९५ सिटमा एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले जित्ने आँकलन गरिएको छ ।
एमाले बढारिनुको कारण पुस ५ को प्रतिगामी कदम र ओलीको बाल हठ नै हो । जसका कारण मंसिरको निर्वाचनमा वाम गठबन्धनसमेत हुन सकेन ।











