Logo
Logo

मतदान अधिकृत ढकालको परिवारलाई २० लाख बिमा रकम


8.6k
Shares

कर्णाली । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका सहायक मतदान अधिकृत हृदयराम ढकालको परिवारलाई २० लाख बिमा भुक्तानी गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत निवासी ढकाल वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कर्मचारी थिए । उनी हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रूपमा खटिएका थिए । निर्वाचनको सिलसिलामा ढकालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।

निर्वाचन आयोगले राष्ट्रिय बिमा कम्पनीसँग स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारीहरूका लागि २० लाखको दुर्घटना बिमा सम्झौता गरेको थियो । सोहीअनुसार प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र राष्ट्रिय बिमा कम्पनी शाखा सुर्खेतले मङ्गलबार स्व ढकालका परिवारलाई बिमा रकम हस्तान्तरण गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल, प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसे, राष्ट्रिय बिमा कम्पनी शाखा सुर्खेतका प्रमुख शिवराज बिसीको उपस्थितिमा स्व ढकालका श्रीमती सुष्मा ढकाललाई २० लाखको चेक हस्तान्तरण गरे ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख चालिसेले स्थानीय तहको निर्वाचनमा खटिएको समयमा दुर्घटनामा परेर ज्यान गुमाएका ढकालको परिवारलाई राहतस्वरुप बिमा रकम हस्तान्तरण गरिएको कम्पनीका शाखा प्रमुख बिसीले बताए । उनले भने, ‘यो घटना हाम्रो लागि अपुरणीय क्षति हो । निर्वाचन आयोगले राष्ट्रिय बिमा कम्पनीसँग सम्झौता गरेर निर्वाचनमा खटिएका कर्मचारीको दुर्घटना बिमा गरेका थियो । सम्झौता बमोजिम उहाँको परिवारलाई राहतस्वरुप बिमा रकम हस्तान्तरण गरेका छौँ ।’

रकम हस्तान्तरण कार्यक्रममा नगरप्रमुख मोहनमाया ढकालले नगरपालिकाले असल राष्ट्रसेवक कर्मचारी गुमाएकोप्रति दुःख व्यक्त गर्दै बिमा रकमले परिवारको जीवन निर्वाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नगरपालिकाको तर्फबाट पनि स्व ढकाललको परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

नगरप्रमुख ढकालले भने, ‘यो अप्रिय घटनामा नगरपालिकाले एउटा होनहार सदस्य गुमायो । परिवारको पीडामा बीमा रकमले पनि मलमको काम गर्नेछ । नगरपालिकाले उनको सहज जीवनयापनका लागि थप केही सहयोग गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्