Logo
Logo
कला

‘आफूलाई सुन्ने इच्छाले गायिका बनेँ’



काठमाडौं । गायिका मीना राई चार वर्ष लेवनान बसिन् । त्यतिबेला उनी गायिका थिइनन् । सानैदेखि गायनमा रुची भएकी मीनालाई गायिका बन्ने मोहले लेवनान पुर्याएको थियो । ‘पैसा कमाउँने र एउटा गीत गाएर सुन्ने’ सपना बोकेर लेवनान उडेकी मीना चार वर्षपछि नेपाल फर्किन् । र, ‘स्कुले जीवन’ नामक एल्बम निकालिन् । एल्बमको शीर्ष गीत ‘स्कुले जीवन’ श्रोताले औधी रुचाए । त्यही गीतबाट गायिकाको पहिचान बनाएकी मीनाले हालसम्म पचासभन्दा बढी गीत गाइसकेकी छिन् । एक दशकयता सांगीतिक क्षेत्रमा सक्रिय खोटाङ जन्तेढुंगाकी मीना राईसँग एमपी सुब्बाको जम्काभेट :

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
गीतसंगीत र समाजसेवाकै काममा व्यस्त छु । त्यसबाहेक खोटाङ कलाकार समाजले आगामी भदौ ४ गते काठमाडौंमा लाईभ सांगीतिक कार्यक्रम गर्दैछ । त्यसको रिहल्सलमा व्यस्त छु ।

नयाँ गीत गर्नुभएको छैन ?
नयाँ गीत पनि गर्दैछु । ‘बार्दलीमा बसेर’ बोलको गीत चाँडै आउँदै छ । मिक्सिङ भइसकेको छ । भिडियो बनाएपछि सार्वजनिक हुन्छ ।

गीतसंगीत क्षेत्रमा लाग्नुभएको कति भयो ?
२०७१–०७२ सालतिर गायनमा लागेकी हुँ । त्यसअघि पनि गाउँथेँ । तर, ०७१ सालमा ‘स्कुले जीवन’ एल्बम ल्याएपछि औपचारिक रुपमा मैले संगीत अँगालेकी हुँ ।

गीतसंगीतलाई अँगाल्ने सोच कसरी आयो ?
सानैदेखि गीतसंगीत मन पराउँथेँ । अरुका गीत सुन्दा मलाई गाउने रहर जाग्थ्यो । तर, सुरुमा अवसर पाइनँ । त्यसमा मेरो आफ्नै कमजोरी छ ।

अवसर खोज्दै काठमाडौं आउनुभएको हो ?
गीतसंगीतको अवसरभन्दा पनि संघर्ष गर्ने सिलसिलामा सन् २००९ मा काठमाडौं आएकी हुँ । काठमाडौं आएपछि मलाई गीतसंगीतको भूत चढ्यो । तर, त्यो बेला मसँग पैसा थिएन । त्यसपछि विदेश (लेवनान) गएँ । लेवनानमा चार वर्ष बसेर फर्केपछि ‘स्कुले जीवन’ एल्बम ल्याएकी हुँ । त्यो एल्बम निकाल्दा परिवार र साथीभाइको सपोर्ट पाएँ । त्यसमा आफूलाई भाग्यमानी ठान्छु ।

पैसा कमाएर गाउने सोचले विदेश जानुभएको हो ?
हो, विदेश गएर कमाएर ल्याएपछि एउटा गीत गाउने सोच थियो किनकि, म आफूलाई सुन्न चाहन्थेँ । तर, एल्बम नै निकालेँ ।

पहिलोपटक आफ्नो स्वर सुन्दा कस्तो लाग्यो ?
खुसी लाग्यो । आफ्नो स्वर सुनेपछि यतिको स्वर सुन्न लायक रहेछ भन्ने लाग्यो । र, त्यसयता निरन्तर गायनमै छु ।

तपाइँलाई चिनाउने गीत कुन हो ?
स्कुले जीवन नै हो । स्कुले जीवन भन्नेवित्तिकै धेरैको अनुभव मिसिएको हुन्छ । आखिर स्कुले जीवन नभोगेका कोही छैनन् । त्यसैले होला, उक्त गीत श्रोता र दर्शकले धेरै रुचाए । जसबाट म गायिकाको रुपमा चिनिएँ ।

हालसम्म कति गीत गाउनुभयो ?
पचासभन्दा बढी भयो होला । ठ्याक्कै गनेकी छैन । मैले पूर्वेली लोकगीत, आधुनिक, आधुनिक पप सबै प्रकारका गीत गाएकी छु ।

पचासभन्दा बढी गीत गाएर पनि मिडियामा कम चिनिनुहुन्छ नि ?
मलाई मिडियामा जानै लाज लाग्छ । मिडिया आफैँ खोजेर आउँदैन । त्यही भएर कामअनुसार चर्चामा नआएकी हुनसक्छ । तर, म आफ्नो कामप्रति खुसी छु ।

रहरले गायन अँगाल्नुभयो । गायिका बन्न कतिको गाह्रो रहेछ ?
सबैभन्दा ठूलो इच्छाशक्ति हो । सुरुमा एउटा गीत गाएर सुनौँ भन्ने इच्छा थियो । तर, ५० भन्दा बढी गाइसकेँ । गाउनकै लागि हङकङ, कोरिया पुगेँ । एक किसिमले मलाई सुरुका दिनमा मात्र गाह्रो भयो । जतिखेर मसँग पैसा थिएन । तर, जब गायन अँगाले, त्यसपछि सबैको साथ र सपोर्ट पाएकी छु । त्यसैले गायिका बन्न खासै संघर्ष गर्नु परेन ।

गीतसंगीतबाहेक के गर्नुहुन्छ ?
गीतसंगीतबाहेक समाजसेवा पनि गर्छु । २०६९ सालबाटै समाजसेवा गर्न थालेकी हुँ । जतिखेर गायनलाई मैले औपचारिक रुपमा अँगालेकै थिएन । अहिले किरात राई यायोख्खा टोका नगर कमिटीको अध्यक्ष छु ।

तपाईँलाई गायनमा आनन्द आउँछ कि समाजसेवामा ?
मलाई दुवैमा आनन्द लाग्छ । किनकि, दुवै मेरो रुचीका क्षेत्र हुन् । आफूसँग नभएपनि अरुसँग मागेर सहयोग गर्न पाउँदा मन आनन्द हुने रहेछ । गायन त मेरो सानैदेखिको इच्छा र रुचीको विषय हो, स्वतः आनन्द लाग्ने नै भयो ।

जीवनको उद्देश्य के हो ?
त्यस्तो खास उद्देश्य केही छैन । मैले अहिलेसम्म मेरी आमा देखेकी छैन । म एक वर्षको हुँदै छाडेर जानुभएको रे । त्यसैले एउटा भिडियोमार्फत आमालाई सन्देश पठाउने उद्देश्य लिएकी छु । म गायनमा लाग्नुको एउटा कारण यो पनि हो ।

प्रतिक्रिया दिनुहोस्