Logo
Logo

प्रभु इन्स्योरेन्सको २३औँ बार्षिक साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेडको २३ औँ बार्षिक साधारण सभा तथा २४ औं बार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । तिनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा सम्पन्न भएको बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को आर्थिक प्रतिवेदन पारित गरेको छ ।

साथै श्रावण १७ गते देखि कम्पनी स्थापनाको २३ औँ बर्ष पूरा गरी २४ औँ बर्षमा प्रवेश गरेको छ । २४ औँ स्थापना दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले निर्जीबन बीमा कम्पनीहरु मध्ये प्रभु इन्स्योरेन्सको संस्थागत सुशासन अब्बल रहेको बताए । बिगत वर्ष बीमाको पहुँच ६/७ प्रतिशत जनतामा रहेकोमा आव २०७५/०७६ मा १९ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको बताउँदै अध्यक्ष चापागाईले मलुकको कूल गार्हस्थ उत्पादनमा बीमाक्षेत्रको योगदान २ प्रतिशत रहेको बताए ।

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनी बीमा समितिको मार्गदर्शनमा अगाडि बढिरहेको बताउँदै कम्पनीले बीमाको बिकासको लागि नयाँ ९नयाँ प्रोडक्टहरुको शुरुवात गर्न लागेको बताइन् । सोका लागि नियामनकारी निकायको सदैव सहयोगको आवश्यकता रहेको उनले बताइन् ।

साथै कम्पनीका सञ्चालक राजेन्द्र मल्लले पुनर्बीमा सम्वन्धी सम्पूर्ण कारोवार मुलुक भित्र नहुने हुनाले अझै पनि ठूलो रकम बिदेशिने गरेकोले नेपालमा रहेको पुनर्बीमा कम्पनीलाई अझ मजबुत बनाउन आग्रह गरे ।

कम्पनीको बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत व्यवसाय बृद्धि गरेकोे बताए । ग्राहकहरुको सुविधाको क्यासलेस दावी भुक्तानीको सेवा ७ वटै प्रदेशमा बिस्तार गरिसकिएको तथा ग्राहकलाई बीमालेख तथा दावी सम्वन्धी जानकारी दिनको लागि अनलाइन सिस्टकको बिकास गरेको बताउँदै आगामी दिनमा थप शाखा सञ्जाल बिस्तार गर्दै लगिने बताए ।

हाल कम्पनीको चुक्ता पूजी १ अर्व ५० लाख ७६ हजार रुपैयाँ रहेको छ । केन्द्रीय कार्यालय सहित ५० भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्