Logo
Logo

शिक्षामन्त्रीको दोहोरो नीति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र उनका सल्लाहकार जीवन गौतमले प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्(सीटीईभीटी)लाई ३ वटा इन्जीनीयरीङ प्रतिष्ठानलाई सम्बन्धन दिन दबाब दिइरहेका छन् । सीटीईभीटीलाई कार्यविधि बनाएर मात्र नयाँ प्रतिष्ठानलाई सम्बन्धन दिन निर्देशन दिएको छ । तर कार्यविधि नबनी तीनवटा प्रतिष्ठानलाई सम्बन्धन दिन मन्त्री पोखरेल र गौतमले दबाब दिइरहेका छन् ।

नरबहादुर कर्माचार्य, गोरखा समाज र योगी नरहरिनाथको नाममा खुलेका शैक्षिक संस्थालाई सम्बन्धन दिन मन्त्री र उनका सल्लाहकार गौतमले दबाब दिएपछि सीटीईभीटीका सदस्य सचिव पुष्परमण वाग्ले र सम्बन्धन शाखाका प्रमुख विनय मिश्र भागीभागी हिंड्न थालेका छन् । कार्यविधि नबनाई तीनवटालाई मात्र सम्बन्धन प्रदान गर्दा अख्तियारले कारबाही गर्ने त्रासमा उनीहरु छन् ।

त्यस्तै नगराइन नगरपालिका धनुषाको शिक्षा शाखामा समायोजन भएका मन्त्री पोखरेलका निजी सचिव पुष्पराज ढकाल अहिलेसम्म हाजिर हुन गएका छैनन् । नगराइन नगरपालिकाका मेयर परमेश्वर साहले शिक्षा शाखामा उपसचिव नआएका कारण नगराइन माविका प्रधानाध्यापक देवेन्द्रकुमार कर्णलाई राखेर कामकाज गराउँदैआएको बताएका छन् । समायोजन भएका कर्मचारी खटिएको कार्यालयमा नगए कारबाही गर्ने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भाषण गर्ने गरेका छन् । तर ढकाल समायोजन भएको कार्यालयमा नगए पनि कारबाहीमा परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्