काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए ।
पहिलो बैठकमा विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा करिब ४० सांसदले धारणा राखेका थिए । गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।














