जनकपुरधाम । भारतको दिल्ली लैजाँदै गरिएका दुई जना किशोरीलाई नेपाल प्रहरीले उद्धार गरेको छ । जनकपुरधाम–जयनगर रेलमा चढाएर भारत लैजाँदै गर्दा महोत्तरी जलेश्वरकी १४ र १९ वर्षीया किशोरीलाई प्रहरीले उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका ७ कमलानगर टोलका २६ वर्षीय रूपेशकुमार मिश्र, वडा नम्बर २३ का २३ वर्षीय दिलमहमद साह र महोत्तरीको मटिहानी नगरपालिका–२ विल्टाहाका २० वर्षीया रानी भन्ने मुस्कान मण्डललाई पक्राउ गरिएको हो ।
शंका लागेपछि प्रहरीले जनकनन्दनी गाउँपालिका–१ स्थित इनरुवा रेल्वे स्टेसनमा उनीहरुलाई सोधपुछ गरेको थियो । सोक्रममा उनीहरूले शंकास्पद जवाफ दिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
राम्रो काममा लगाइदिने भनेर किशोरीलाई दिल्लीतर्फ लैजाँदै गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । उनीहरुमाथि मानव बेचविखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














