Logo
Logo

काठमाडौं-५ मा ईश्वर पोखरेललाई कति सहज ?


1.9k
Shares

काठमाडौं । नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ५ मा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सिफारिस गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्यका लागि एमालले पोखरेलको नाम सिफारिस गरेको हो ।

एमालेले बुधबार काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । जसमा क्षेत्र नम्बर ५ मा पोखरेलको एकल नाम सिफारिस गरेको छ । पोखरेल २०७४ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा भारी मतले विजयी भएका थिए ।

त्यसो त यसअघि नै पोखरेलको नाम ५ नमबर क्षेत्रमा चर्चा आएको थियो । यस क्षेत्रबाट २०७४ मा पराजित कांग्रेसकै डा. प्रकाशशरण महतको नाम चर्चा आएको छ । तर, सत्ता गठबन्धनमा अझैसम्म भागबण्डा मिलिनसकेकाले टुंगो भइसकेको छैन ।

यही क्षेत्रबाट चर्चित अर्थविद् स्वर्णिम वाग्लेले उम्मेदवारी दिने चर्चा छ । यसअघि काठमाडौं ५ बाट उठ्ने सार्वजनिक अभिव्यक्ति दिएपछि चर्चामा आएको हो ।

यस्तै, यस क्षेत्रबाट प्रतिनिधिसभामा उठ्नका लागि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले उक्त पार्टीको भ्रातृसंगठन अनेरास्वियूका अध्यक्ष सुदेश पराजुलीको नाम सिफारिस गरिसकेको छ । भोजपुरका सुदेशले अहिले आएर काठमाडौंलाई राजनीतिक थलो बनाउन लागेका हुन् ।

यही क्षेत्रमा आफूलाई सामाजिक अभियन्ता बताउने हेमराज थापा र विवेकशील साझा छाडेकी रञ्जु दर्शनाले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्