काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि क्रमशः वातावरण बन्दै गएको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको छलफलमा उनले नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बनेको बताए ।

विद्युत्को बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउने तयारी भइरहेको उनको भनाइ थियो । सानो मात्रामा भारतको बजार खुलेको जानकारी दिँदै उनले निकट भविष्यमा नै बङ्गलादेशको बजारसमेत नेपालका लागि प्रशस्त हुने विश्वास व्यक्त गरे ।
उलने भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी मल्लिाकार्जुन राव (जिएमआर)ले उत्पादन गर्नेमध्येको पाँच सय मेगावाट बराबरको बिजुली बङ्गलादेश पुगेको खण्डमा त्यसले नेपालको थप बिजुली लैजानका लागि समेत मार्ग खुल्ने बताए ।
जिएमआरको म्याद पटक–पटक किन थपिएको भनेर प्रश्न पनि उठ्ने गरेको उल्लेख गर्दै उनले बङ्गलादेशको बजार खुल्ने विश्वासका साथ सरकारले दीर्घकालीन हित हेरेर निर्णय गरेको बताए ।
विश्वव्यापी बोलपत्रका माध्यमबाट जिएमआरले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी पाएको हो । आयोजनाको म्याद पटक–पटक थप भए पनि थप प्रगति हुन सकेको छैन ।
पछिल्लो पटक पनि सरकारले थप दुई वर्ष म्याद थप गरेको छ । जिएमआरले पाँच सय मेगावाट बिजुली बङ्गलादेश निर्यातका लागि विद्युत् खरिद सम्झौताको तयारी भइरहेको जनाएको छ ।
उपमहासचिव पुनले भारतको अर्को कम्पनी सतलजले निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाले पनि विद्युत् निकासीका लागि थप वातावरण बनाउने भएकाले सरकारले दीर्घकालीन हितका साथ काम गरिरहेको बताए ।














