काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाट शुक्रबार दिउँसो भागेका ठगी मुद्धाका आरोपीलाई प्रहरीले नक्सालबाट नियन्त्रणमा लिएको छ ।
शुक्रबार दिउँसो फ्लाई दुबईको विमानबाट नेपाल आएका सुनसरीका ३० वर्षीय रिजवान आलमको पासपोर्टमा ‘अराइभल’ छाप लगाउने क्रममा शंकास्पद देखिएपछि पक्राउ गर्न खोज्दा भागेका थिए ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले शुक्रबार राति १० बजेतिर नक्सालस्थित होटल मेरियटबाट पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी श्याम ज्ञवालीका अुनसार कर्मचारीले प्रहरीलाई खबर गर्नसाथ उनी फरार भइसकेका थिए । आलम विमानस्थलबाट भागेको सूचना पाएपछि आलमको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालित भएको थियो ।
विमानस्थल स्रोतका अनुसार आलम दुबईबाट ‘भीआईपी डेलिगेट्स’सँग आएका थिए । दुबईबाट उनीहरु मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणमा काठमाडौं आएका थिए ।
उनीहरुलाई रिसिभ गर्न आयोगका अध्यक्ष अन्सारी स्वयम् विमानस्थल पुगेका थिए । दुबईबाट आएका सबैको पासपोर्ट एकमुष्ठ रुपमा ‘अराइभल’ छाप लगाउन दिइएको थियो । त्यसक्रममा आलमको पासपोर्ट कालोसूचीमा रहेको पाइएको थियो ।
प्रहरीका अनुसार रिजवानमाथि पाइलट पढाइदिने भन्दै एक करोड रुपैयाँ बढी ठगी गरेको अभियोग छ । आलममाथि २७ फागुन २०७८ मा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको थियो ।














