Logo
Logo

मेघौली विमानस्थलको काम छिट्टै हुन्छ : प्रचण्ड


1.1k
Shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेघौली विमानस्थल स्तरोन्नतिको काम छिट्टै सम्पन्न हुने बताएका छन् ।

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको मेघौली विमानस्थलको स्तरोन्नतिसम्बन्धी अन्तक्र्रियामा उनले ऐतिहासिक महत्व बोकेको यो विमानस्थलको काम तीव्र गतिमा अघि बढ्ने बताए ।

विमानस्थल स्तरोन्नतिका लागि सर्वेक्षण गरेर प्राविधिक रिपोर्ट तयार गर्नका लागि प्रयोग गरिने ड्रोन उडाएर कामको सुभारम्भ गर्दै उनले छिट्टै विमानस्थलको कामले पूर्णता पाउनेमा आफू विश्वस्थ रहेको बताए ।

भरतपुर विमानस्थलको बिस्तार र मेघौली विमानस्थलको धावनमार्गको कालोपत्रसहितको स्तरोन्नतिका लागि निरन्तर लागि रहेका यसै क्षेत्रका सांसदसमेत रहेका दाहालले दुई विमानस्थलको विकाससँगै यहाँको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

उनले भने, ‘पर्यटन विकासको दृष्टिले मेघौलीको सम्भावना प्रचुर रहेको छ ।’ निकुञ्जसँगै आदिवासी समुदायको संस्कृति र वेषभूषाले पर्यटनलाई आकर्षण गरेको उनले बताए । दाहालले भने, ‘थारु, दराई र कुमालको संस्कृति एवं परम्परासँगै निकुञ्ज हुनुका कारणले अपार सम्भावना र चुनौती दुवै छ ।’

वन्यजन्तुबाट जनताको सुरक्षाका निम्ति नयाँ प्रविधिको प्रयोग गर्ने विषयमा छलफल चलिरहेको उनले बताए ।उनले भने, ‘प्रधानमन्त्री, अर्थमन्त्री र वन तथा वातावरणमन्त्रीसँग कुराकानी भइरहेको छ । भारतमा जस्तै यहाँ पनि नयाँ प्रविधिको प्रयोग गर्ने कुरा भइरहेको छ ।’ भारतमा वन्यजन्तुबाट जनताको सुरक्षाका लागि विशेष प्रकारको संयन्त्र विकास भएको भन्दै उनले यसका लागि केही करोड बजेट भए पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्