Logo
Logo

ओली र जबरा : एउटै ड्याङका मुला



यतिबेला जिम्मेवारीका हिसाबले देशकै दुई ‘ठूला’ अधिकारी लगभग उही भाकामा बर्बराइरहेका छन् । एक, केपी शर्मा ओली, अर्का चोलेन्द्रशम्शेर जबरा । यी दुवैको नामै पर्याप्त छ, थप परिचय दिइरहनु पर्दैन । संजोग नै भनौँ, यतिबेला दुवै एकै कित्तामा उभिएर उस्तै भावभंगीमा बर्बराइरहेका छन् ।

अहिले यी दुवैको अवस्था पनि लगभग उस्तै छ । ओली सत्ता गठबन्धनसामु निरीह बनेर राजनीतिक जीवनको दुःखद् अन्त्यको उल्टो दिनगन्तीमा छन् । एकातिर ओली मङ्सिर ४ ले ल्याउने सम्भावित परिणामले बनाउने आफ्नो अनुहार कल्पेर अहिले नै तर्सिरहेका छन् भने अर्कोतिर, जबरा महाअभियोगको कठघरामा उभिएर आफ्नो करिअरुको दुःखद् अवशान पर्खिरहेका छन् ।

४३ वटा संगीन आरोपको जवाफ दिन संसदीय समितिको कठघरामा उभिएका जबरासँग उत्तर छैन, अरूलाई लगाउने फतुर मात्र बाँकी छ । उनी बर्बराहटमा केपी ओली र उनका अनुयायीहरूबाहेक सबैलाई कुनै न कुनै किसिमको फतुर लगाइरहेका छन् ।

यसो भन्दा कसैलाई अप्रिय लाग्ला, तर अब ओली र जबरासँग जित्नलाई केही नै छैन, जे छ हार्नलाई मात्र बाँकी हो । यस्तो बेला मान–अपमान, इज्जत–बेइज्जतको केही भर नहुने रहेछ । यी दुईको पछिल्लो बर्बराहट सुन्दा जो–कोहीले पनि यस्तै अनुमान लगाउन सक्छन् ।

पहिला केपी ओलीको कुरा गरौं । त्यसका लागि उनले कान्तिपुर कन्क्लेभको ‘नीति, थिति र राजनीति’मा राखेका केही भनाइ हेरौं–
– अमेरिकामा एउटा सिस्टम छ, त्यहाँ एकपटक राष्ट्रपति भएको व्यक्ति आठ वर्षसम्म रहन्छ ।
– हामी कहाँ कार्यकारी प्रधानमन्त्री कहिले कहाँबाट बन्छ ? थाहै हुँदैन ।
– ‘खोजे हुन्छ, एम अधिकारी कहाँ छ ? म टर्चको ब्याट्री किनिदिन्छु । एम अधिकारी को हो म पनि जान्दिनँ ।
– मैले संवैधानिक आयोगहरूमा नियुक्त भएका मान्छे नै चिनेको छैन ।
– लिगलिगमा आफैँ तरबार चलाउँथे, अहिले अदालतले समेत तरबार चलाउँछ ।

उनका यी भनाइ कुनै चुनावीसभाका पनि हैनन्, न पार्टीका आन्तरिक कार्यक्रमकै हुन् । उनले यी भनाइ एउटा वौद्धिक मिमांशा गरिने कार्यक्रममा राखेका हुन् ।

उनका कतिपय भनाइ तथ्यगतरूपमै गलत छन् भने कति दिउँसै रात पार्ने खालका झुटका पुलिन्दा नै हुन् । अझ, कतिपय कुरा त होस भएको सामान्य मान्छेले भन्ने खालका त छैनन् भने दुई–दुईपटक देशको कार्यकारी प्रधानमन्त्री भएका प्रमुख प्रतिपक्षी दलका नेता जो तेस्रोपटक प्रधानमन्त्रीको उम्मेदवार तोकिएर चुनावमा जाँदै छन्, उनलाई त सुहाउने कुरै भएन ।

उनले अमेरिका र नेपालको राजनीतिक व्यवस्थाको तुलाना गर्ने क्रममा ‘अमेरिकामा एउटा सिस्टम छ, त्यहाँ एकपटक राष्ट्रपति भएको व्यक्ति आठ वर्षसम्म रहन्छ’ भने । पहिलो त यो तथ्यगतरूपमै गलत छ । किनकि, अमेरिकामा चार वर्षका लागि राष्ट्रपति चुनिन्छ । बढीमा दुई कार्यकालका लागि चुनिन सक्ने भएकाले दोस्रोपटक चुनियो भने आठ वर्षसम्म राष्ट्रपति हुनसक्ने हो ।

रह्यो तुलनाको कुरा, नेपाल र अमेरिकाको शासन व्यवस्था नै फरक भएकाले यी दुई देशबीचको ‘नीति, थिति र राजनीति’को तुलना नै हुँदैन । अमेरिकामा कार्यकारी राष्ट्रपति हुन्छन्, नेपालमा वेस्टमिनिस्टरियल प्रधानमन्त्री । अमेरिकामा लगभग दुईदलीय शासन व्यवस्था छ, नेपालमा अनेक दलको बहुदलीय शासन व्यवस्था छ । नेपालको राजनीति अझै भदौरे भेलमै छ, अमेरिकाको साङ्लिसक्यो । तर, पनि उनी तुलना गरेर मनको लड्डु घिउसँग खाइरहेका थिए । यो भनेर उनी जनतालाई सुसूचित गरिरहेका थिएनन्, एक किसिमको भ्रम बाँडिरहेका थिए ।

उनले यही प्रसंगमा ‘हामी कहाँ कार्यकारी प्रधानमन्त्री कहिले कहाँबाट बन्छ ? थाहै हुँदैन’ भनेका छन् । दुई–दुईपटक देशको कार्यकारी प्रधानमन्त्री भएका ओलीले यसो भन्दा आफैँ हुस्सु भएको पत्तै पाएनन् । पहिलो त सोझो अर्थमा उनी बिना होसहवास कार्यकारी प्रधानमन्त्री भएका रहेछन् भन्ने बुझ्नुप¥यो । दोस्रो, लाक्षणिक अर्थमा नेपालको कार्यकारी प्रधानमन्त्री आफैँले हैन, अरू कसैले बनाइदिन्छ भन्ने बुझ्नुप¥यो । जुन अर्थमा भने पनि ओलीको यो बोलीको सामान्य अर्थ लाग्दैन ।

उनले अर्को एक प्रसंगमा ‘खोजे हुन्छ, एम अधिकारी कहाँ छ ? म टर्चको ब्याट्री किनिदिन्छु । एम अधिकारी को हो म पनि जान्दिनँ ।’ पहिलो त म टर्चको ब्याट्री किनिदिन्छु, खोजे हुन्छ भनेर चुनौती दिने कुरा नै उनलाई शोभा दिने खालको हैन । त्यसमाथि पनि उनले आफ्नो पार्टीको अर्थ विभागको सदस्य चिन्दिनँ भनेर आफैँलाई हुस्सु बनाए । यो वा त्यो जे भने पनि उनले सफेद झुट बोलेका हुन् । एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै हुन्, यो घामजत्तिकै छर्लङ्ग छ ।

ओलीले अर्को एक प्रसंगमा आफूले ‘संवैधानिक आयोगहरूमा नियुक्त भएका मान्छे नै चिनेको छैन’ भनेर अर्को सफेद झुट बोले । उनले रातारात अध्यादेश ल्याएर आफ्ना, चोलेन्द्रशमशेर र गणेशप्रसादका गरी ५२ जना मान्छे भर्ना गरे । उनलाई आफूले भर्ना गरेका मान्छे नचिन्ने त के कुरा भयो र, तीनपुस्ते पनि थाहा छ । तर, उनले दिउँसै रात पारेर कोही नै नचिनेको बताए ।

ओलीले नेपालको न्यायप्रणालीमाथि तीब्र रोष प्रकट गर्दै ‘अहिले अदालतले समेत तरबार चलाउँछ’ भन्न भ्याए । यो आफैंमा नेपालको अदालतमाथि लगाइएको संगीन आरोप हो । तर, उनले कुनै आइतबार नपर्खी सिधै यही आरोप लगाए । यही क्रममा उनले परमादेशको पनि कुरा उठाए । यसो भन्दा शेरबहादुर देउबाको वर्तमान सरकारलाई परमादेशी सरकार भन्ने ओलीले के कुरा बिर्से भने उनी आफैं पनि उत्प्रेषणवाला एमाले अध्यक्ष हुन् । उनी २०७७ फागुन २३ गते सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको उत्प्रेषणको आदेशले नेकपा विघटन भएपछि जागेको एमालेका अध्यक्ष हुन् । यदि नजागेको भए तत्कालीन नेकपाको साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरिएका ओली यतिबेला अर्कै नामको कम्युनिष्ट पार्टीको सटर खोलिरहेका हुन्थे ।

ओलीले यस्तो विचार मन्थनको कार्यक्रममा त यस्तो जथाभावी बोल्छन् भने चुनावी सभामा त के के भन्न मात्र भ्याउने हुन् ? त्यसको अनुमान गर्न पनि गाह्रो छ ।

अब चोलेन्द्रशमशेर जबराको कुरा गरौं । उनी यतिबेला संसद्को महाअभियोग सिफारिस समितिमा लगाइएका ४३ अभियोगको जवाफ दिइरहेका छन् । चारपटकमा ३५ अभियोगको वयान दिइसकेका उनले आफ्नो सफाइ दिनेभन्दा पनि अरू सबैलाई एकतर्फि आरोप लगाइरहेका छन् । उनको वयान सुन्दा यस्तो लाग्छ कि उनले आफू निलम्बित नै भए पनि नेपालको सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँ भन्ने पनि बिर्सिसके ।

पहिला उनले समितिमा वयान दिने क्रममा राखेका केही भनाइ हेरौं–
– राजीनामा गरे महाभियोग फिर्ता लिने देउवा र प्रचण्डको सन्देश लिएर डिनाजी क्वार्टरमा आउनुभयो ।
– न्यायाधीशको हरेक नियुक्तिमा नेताहरूले भाग माग्छन् ।
– दीपककुमार कार्कीको प्रधानन्यायाधीश बन्ने महत्वाकांक्षा बढेपछि नेपाल बारलाई प्रयोग गरेर महाभियोग ल्याइयो ।
– पूर्वन्यायाधीश समाज मण्डले समाज हो, हिजोका मण्डलेहरू त्यहाँ छन् ।
– रमण श्रेष्ठ, शम्भु थापा, हरिहर दाहाल ठालु वकिल हुन् । उनीहरूलाई चलखेल गर्न नदिएपछि मेराविरूद्ध लागे ।
– छाउनीको जग्गा ट्रष्टको हैन, प्रेरणाको हो ।
– कान्तिपुरका कैलाश शिरोहियालाई प्रधान न्यायाधीश बनाइदिए हुन्छ ।

जबराले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा गोपनियताको सपथ खाएका छन् । त्यसको अर्थ उनले कामको क्रममा अर्को पक्षसँग सम्बन्धित पाएका सूचना आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न पाउँदैनन् । अझ उनले त परिवारका सदस्य र नातेदारबाहेक दोस्रो व्यक्तिसँग नैतिक रूपमा एक्लै भेट्न पनि मिल्दैन । यस्तो उच्च नैतिक बन्धन र गोपनियताको सपथ खाएको जिम्मेवार मानिसले जे जस्तो वयान दिइरहेका छन्, त्यसलाई एक किसिमले असामान्य मानिसको बर्बराहट नै भन्नुपर्ने हुन्छ । संख्या नपुगेर प्राविधिक रूपमा महाभियोग प्रस्ताव पारित नै भएन भने पनि यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने मानिसको हातमा नेपालको न्यायपालिकाको नेतृत्व सुम्पन्न सकिदैन, हुँदैन ।

प्रकारान्तरमा ओली र जबराको यस्तो गैरजिम्मेवार अभिव्यक्तिले उनीहरू ती गरिमामय पदका लागि योग्य थिएनन् भन्ने निस्कर्षमा पुग्न कुनै आइतबार पर्खनु पर्दैन ।

घरदेशका हुन् वा परदेशका, नेपाली जनता उनीहरूको यो वकपत्रका प्रत्यक्ष साक्षी हुन् । उनीहरूले बोलेका यी सबै भनाइको श्रव्य–दृश्य अभिलेख पाइन्छ । हामीले यस्ता असामान्य मानिसलाई फेरि सामान्य ठानियो भने गल्तीको पाठशालामा केही नसिकेको ठहरिने छ ।

प्रतिक्रिया दिनुहोस्