Logo
Logo

चुनावका थरीथरी अनुहार



चुनाव आउँदै छ र आयाराम–गयारामहरूको बजार चल्न थालेको छ । आज एक दलमा पसेको मान्छे २४ घण्टा नबित्दै भोलि अर्काे दलमा कसरी जान सक्दो रहेछ ?

भारतीय राजनीतिमा मात्र सुनेको कथा जस्तो लाग्ने घटना नेपालमा मजासँग हुन थालेको छ । ‘नेपालीले पाए गर्छ’ भनेको यही हो क्यारे । के सिद्धान्त बुझेर हिजो एक दलबाट अर्का दलमा पसेको राजनीतिकर्मी आज फेरि अर्काे दलमा फर्किन्छ, छक्कै पर्नु छ । तथापि अब राजनीतिमा जे पनि हुन्छ भन्ने कुरा पत्याउनुपर्छ ।

यसरी कहिले संसद्मा गोरु ब्याउँछ त कहिले अदालतमा । विसं २०५९ मा मृत प्रतिनिधिसभा ब्युँतेर फेरि चलाइएको र २०५२ भदौ १२ गते अदालतले मनमोहन अधिकारीले गरेको संसद् विघटनलाई विश्वनाथ उपाध्याय नेतृत्वको अदालतले उल्टाइदिएको घटनालाई गोरु ब्याएको सँग तुलना गरिएको थियो क्यारे । अब त साधारण घटनामै पनि गोरु मजासँग ब्याउन लागेको छ । जस्तो, कि चुनाव घोषणा हुँदा पनि संसद् चाहिँ जीवित रहने रे ।

रमाइलो कुरा त प्रमुख प्रतिपक्षी दलले आफ्नो प्रधानमन्त्री तोकिसक्यो, गठबन्धनले तोक्न सकेको छैन । आफ्नै नेताहरूसँगको रीसले संसद् विघटन गर्दा कुर्सी बाहिर पर्नुपरेको व्यथा शमन गर्नलाई कसैलाई प्रधानमन्त्रीको चर्चा चलाइएको छ ।

गगनकुमार थापा, प्रकाशमान सिंहले पनि प्रधानमन्त्री खाने आशा सार्वजनिक गरिसके भने रामचन्द्र पौडेल अन्तिम चुनाव लडेर पहिले १७ चोटि हारेको पद खान लालायित छन् । पुष्पकमल दाहाल पनि एकपल्ट देशमा समृद्धि ल्याउन पासा फ्याँक्दै छन् ।

शेरबहादुर देउवा बहुमतको प्रधानमन्त्री पहिले आफू खाएर केही वर्षपछि पत्नीमा सार्न खोज्दै छन् कि, कसलाई के थाहा ? अब एक पल्ट अन्तिम लड्छु भन्ने झलनाथ खनाललाई प्रधानमन्त्री चाहिएन, बरु राष्ट्रपतिमा आँखा लागेको छ । वर्तमान राष्ट्रपति पनि नागरिकता प्रकरणमा राजीनामा गरेर प्रधानमन्त्री बन्ने दाउमा लागेमा आश्चर्य मान्नुपर्दैन ।

कमल थापा पनि अन्तिम चुनाव लड्ने रे । यसो भनेपछि कतै सहानुभूतिको मत आइहाल्छ कि भन्ने दाउ तिनको होला । डिएमलाई भने दुई चोटि नगर प्रमुख र एक पटक मुख्यमन्त्री खाएपछि अब चुनाव लड्न पुग्यो ।

जसले निर्वाचन नलडे हुन्थ्यो भन्ने लागेको छ, उही मच्चिइमच्चिई उम्मेदवारी घोषणा गर्दै छन् र नेपाली जनताका आशामा चिसो पानी खन्याउँदै छन् । ३८ सालमा मत दिइएका उम्मेदवार अहिले पनि उठ्ने रे ! मतदाता हाँस्ने कि रूने ?

जसले निर्वाचन नलडे हुन्थ्यो भन्ने लागेको छ, उही मच्चिइमच्चिई उम्मेदवारी घोषणा गर्दै छन् र नेपाली जनताका आशामा चिसो पानी खन्याउँदै छन् । जस्तो कि, ३८ सालमा जसलाई मत दिइएको थियो, तिनै अहिले पनि उठ्ने रे भनेको सुन्दा मतदाताले हाँस्ने कि रूने ?

अनि गठबन्धनका बदलामा कतै तालमेलको चर्चा पनि रमाइलै छ । क्रान्तिकारी पार्टीको तालमेल राजतन्त्र, हिन्दूतन्त्रवादीसँग हुने रे । नयाँ शक्ति बन्न हिँडेकाको यात्रा राप्रपासँगको घुलन रे । एक्काइसौँ शताब्दीमा फेरि राजा ल्याउने तिनको मतिलाई के भन्ने ?

बेलायतमै राजतन्त्रबारे बहस हुन थालिसक्यो, यहाँ भने भर्खरै अवसान भएको राजतन्त्र चुनावबाट ल्याउने रे ! तर, वामपन्थी–प्रजातन्त्रवादी पार्टीहरूलाई जति गाली गरे पनि जनता राजावादीलाई भोट दिएर राजतन्त्र ल्याउन चाहन्नन् ।

सिके राउत, हृदयेश त्रिपाठी, रेशम चौधरीको पनि गठबन्धन बन्दै छ । लोसपाका महन्थ ठाकुर–राजेन्द्र महतो बालकोटसँग पनि ठीक्क, बूढानीलकण्ठसँग पनि ठीक्क । अब एक्लाएक्लै लड्ने हुती कसैसँग रहेन ।

चुनाव न हो, सबैलाई एक न एक इस्यु चाहिएको छः नागरिकतालाई उछाल्न सकिन्छ कि, सङ्घीयतालाई उचाल्न सकिन्छ कि, एकार्कालाई भ्रष्टाचारी भनाउन सकिन्छ कि वा प्रतिगमनकारी जनाउन सकिन्छ । राष्ट्रवादी पगरी गुतेर एकले अर्कालाई लम्पसारवादी संज्ञा पनि दिन सकिन्छ । सबै बाटो हेर्दै छन् । गरीबी, महँगी, समृद्धि, बाटोघाटो, पुलपुुलेसा, खानेपानी, धारो, बिजुली निर्माणका विषय पाखा लागे ।

उम्मेदवार बनाउन सिफारिस गरिएका अरू चर्चित नाम पनि बजारमा आइसक्योः विजयकुमार गच्छदार, रेशम चौधरी, मोहम्मद आफताब आलम, दुर्गा प्रसाईँ, चक्रे मिलन, गणेश लामा । नेपाली जनता हाँसेरै मर्ने भए कि क्या हो ? तर अझसम्म पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशीको नाम आएको छैन ।

चुनाव लड्न जो पनि पाउँछन्, जित्ने तर तिनलाई भेट्न जेल जानुपर्ने स्थिति पो जो छँदै छ । नेपाली जनतालाई यस्ता चुनाव वर्षभरी नै आइदिए चाडबाड आएको जत्तिकै रमाइलो हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्