Logo
Logo

परिवर्तनको त्यो संकल्प



‘क्रान्ति’को सपनामा झन् झन् उँड्न थालेपछि त्यति धेरैमाया र सम्मान पाएको बलम्बु र स्कूल छाडेर आफूलाई ‘सर्वहाराकरण’ गर्ने धुन सवार हुन थाल्यो ।

बलम्बुको स्कूलबाट राजीनामा दिएँ । राजीनामाले बच्चाहरुलाई रुवायो । बच्चाको रुवाईले तिनका अभिभावकलाई पनि छोयो । आफैले रुवाएका तिनका आँसु देखेर पनि पुछिदिन सकिन । सिङ्गो स्कूल नै रूँदा पनि मैले आफ्नो निर्णय छोडिन– कति जिद्दी भइसकेकी रहिछु !

स्कूलबाट विदावारी भएर फर्किरहँदा बाटैमा दुबै आँखा देख्न छाडेका वृद्ध ‘बुरामाबाजे’ले फेरी पनि मलाई रोक्ने प्रयत्न गर्नु भयो । अहँ मैले कसैको आवाज सुनिन । कारखानामा गएर निलो जीनको एप्रोन नै लगाउने सुर कसेँ ।

शिक्षकबाट मजदुर हुनु भनेको प्रोमोशन हुनु थिएन । स्थायी भइसकेको काम छोडेर ज्यालादारीमा काम गर्नु व्यक्तिगत हीतको कुरा थिएन । मनमा केवल एउटा हतारोको भाव थियो– ‘देशमा परिवर्तनको खाँचो छ… परिवर्तन क्रान्तिबाट मात्र सम्भव छ… साँचो क्रान्ति भनेको सर्वाहारा वर्गले नै गर्ने हो… त्यसका निम्ति मैले आफ्नोसमेत सर्वहाराकरण गर्नु पर्छ… श्रमजीवी वर्गलाई बिउँझाउनु पर्छ…।’

कसैसँग सल्लाह लिएकी थिइन आफ्नै मनसँग बाहेक । सल्लाह गर्न लायक नेता अझै सम्पर्कमा आइसकेका थिएनन् । सोच्थें– मजदुरहरु जागे भने देशमा केही परिवर्तन नआई सुखै छैन …।

वास्तवमै केही पछि यो सत्य साबित पनि भयो । तर त्यो बेलाको आफ्नो एकोहोरोपन र हतारो सम्झिँदा भने अहिले पनि हाँसो उठ्छ ।

सुरुमा कारखाना पुग्दा ममा एक किसिमको जीतकै आभास थियो, अनेक नाटक गरेरै पसेकी थिएँ । काठमाडौंको बालाजुको औद्योगिक क्षेत्रको नेबिकोमा एक सामान्य मजदुरको रुपमा काम गर्न थालें ।

कारखानामा बिस्कूट प्याकिङ मात्र नभएर सुरुमा त झ्याल ढोका, टेबूलहरु भूईंसमेत पनि पुछ्न लगाउँथे नयाँ मजदुरहरुलाई । त्यो पनि हाँसी–हाँसी नै गरें, अरु नयाँ मजदुरहरुसँगै ।

मजदुर पनि थरिथरिका थिए । सोझा साथीलाई आफ्नो काम थमाएर छिटो भाग्ने ठगहरु पनि हुन्थे । कोही भने मेहनती, सोझा, दायाँबायाँ केही नसोँच्ने असल मजदुरहरू नै बढि थिए ।

निश्चित उद्देश्यका साथ काम गर्नै भनी म गएकी थिएँ । नत्र कहिल्यै कसैको दबाब सहन नसक्ने मान्छे त्यहाँ टिकेर बस्न पनि सजिलो हुने थिएन । आफ्नै ‘सर्वहाराकरण’ गर्दै सर्वहाराकै निम्ति भनेर काम गर्न गएको त्यो बेला न काम गर्न लाज लाग्थ्यो, न भविष्यको चिन्ता नै थियो । एउटै ध्याउन्न थियो– मजदुरहरूलाई ‘बिउँझाउने’ !

मजदुरसँगको आत्मियता बिस्तारै बढ्दै थियो । त्यहाँ केही विद्रोही स्वभावका असन्तुष्ट मजदुरहरु पनि पहिलेदेखि नै छन् भनेर थाहा भयो । तर ती प्रायः केटाहरुको कक्षमा थिए ।

केटाहरुको काम अझै बोझिलो थियो– ठूला मेशिनहरु चलाउनु पर्ने । एकजना त हाम्रै पुरानो अध्ययन समूह कै सकृय र राम्रो मनका साथी पनि थिए– नृपेन्द्र मास्के । तर सुरुसुरुमा त उनीसँग भेट हुन पनि सजिलो थिएन ।

विस्तारै विस्तारै केही पुराना सचेत कामदारहरु– कमलबहादुर लामा, लक्ष्मीबहादुर कारञ्जित आदिलाई पनि चिन्दै गएँ । महिला मजदुरका बीचमा भने बढि घरका कुरा, फिल्म र फेशनका गफ नै बढि हुन्थे ।

मलाई एउटा सिंगै नयाँ प्याकिङ मेशिनकोको जिम्मा दिएपछि मेशिनकोे घ्यारघ्यार.. आवाजले अरुको कुरा पनि स्पष्ट सुन्न गाह्रो हुन थाल्यो । नजिकै अरु कोही हुँदैन थिए । दिनभरी एकनास काम गरिरहँदा मेरो स्वभावसँग नसुहाँउँदो कामले गर्दा मलाई दिक्क लाग्न थाल्यो ।

‘यहाँ आएर ठीक गरें कि बेठिक ?’ भनेर बल्ल आफुसँग प्रश्न गर्न थालें । बेला बेला बलम्बुको वातावरण, त्यहाँ पाएको स्नेह र सम्मान, बच्चाहरुको हातको स्पर्श, ‘बुरामा बाज्या’को अन्तिम आग्रह आदि सम्झन्थेँ ।

मनमा छट्पटी जस्तो लाग्थ्यो । कहिलेकहीँ तनावले गर्दा हातमा आईसकेको बिस्कूटलाई झुरम्म पारी धुलोपीठो बनाउँथें । ‘मजदुर हुन्छु भनेकी होइन लौ बन्… ?’ भन्थें । न साहित्य, न कला, न मनपर्ने साथीसंगति…! दिन भरी थाक्नु बाहेक अरु केही सकारात्मक कुरा नहुँदा आत्तिन्थें ।

सुपरभाइजरहरुको फुर्ति देख्दा भित्र केही रिस पनि थपिन थाल्यो । कोही कोही त स–सानो सानो राजा नै हुन खोज्थे । कोही बिल्कुल विवेक शून्य थिए । आफूलाई मनपर्ने र मन नपर्नेहरु माथि उनीहरुको भेदभाव स्पष्ट देखिन्थ्यो ।

तीन महिनाको परिक्षण काल सकिँदै थियो । तर समयले भने ३६ सालको आगो फुकिसकेको थियो । कामसँग जतिसुकै दिक्क लागे पनि धैर्य गर्नुपर्ने स्थिति आयो । त्यही बेला विभिन्न संगठनका नेता कार्यकर्ताहरुसँग पनि भेटघाट बढ्न थाल्यो ।

सोभियतसंघ समर्थक वाम पार्टीका युवानेताहरु घरसम्म आएर सम्झाउथे । नेपाली कांग्रेसका युवाहरु आएर ‘कम्युनिष्टको भविष्य छैन तपाईंहरूजस्तो जागरूक युवाहरू हामीसँग आउनुस्’ भन्थे । कसैसँग चित्त बुझाउन सकेको थिइन ।

सुशीलाको आफ्नै सम्पर्क र सम्बन्ध छ भन्ने थाहा थियो । उनले पनि एकपल्ट शशी सरको एकजना नेतासँग छुट्टै भेटघाट गर्न भनेर समय मिलाइन्– लगनको मेरो पुरानो स्कूलनिर शशी सरकै एक गाडावाला साथीकोको डेरामा ।

ती ‘नेता’, सुशीला र म तीनजना मात्र थियौं, कोठामा । नेताले सुरुमै ठूलै कुरा थाले । उनको नाम पनि थाहा थिएन । कुराकानी थालेको एकछिन पछि नै बाहिरबाट ढोका नै फुट्ला झैं गरी कसैले ढोका ढकढकाउन थाल्यो । हामी सबै छक्क पर्यौँ । नेताजी त जुरुक्क उठेर झ्यालबाट भाग्न खुट्टै उचाले ।

कति डर लागेको होला ! हामीसँग कुनै खतरनाक पुस्तक वा सामग्री पनि थिएन । चिनेको ठाउँ भएकोले मलाई भने कुनै डर थिएन । ती नेताको डर देखेर बरु छक्क परें । उनी झ्यालबाट हाम फालेर खुट्टा भाँचेका भए जात्रै हुन्थ्यो ।

मैले उठेर ढोका खोलिदिएँ । घरबेटीले मलाई चिनेर ‘ए मिस पो ? मैले त अरु नै के–के सुनेर…’ भन्दै गए । हामी पनि फर्क्यौं । ती नेतालाई चिन्न धेरै बेरै लागेन । यस्ता नेताले के परिवर्तन ल्याउलान् र भन्ने प्रश्न पनि जन्म्यो मनमा ।

त्यो घटनाको केही समयपछि सुशीलाको पनि ती नेताप्रति विश्वास घट्यो जस्तो लाग्यो । केही पछि त उनी पनि टाढिइन् । हामीसँग पनि बिस्तारै टाढिन थालिन् ।

जीवनको प्रत्येक पाइलाले नयाँ कुरा पनि सिकाउँदै गयो ।

प्रतिक्रिया दिनुहोस्