Logo
Logo

बालुवाटारमा पुच्छर


शम्भु श्रेष्ठ


शम्भु श्रेष्ठ

प्रधानमन्त्री केपी शर्मा ओली एघार दिन सिंगापुर बसे । स्वास्थ्य उपचारको सिलसिलामा सिंगापुर पुगेका देशको प्रधानमन्त्रीको स्वास्थ्य उपचार कस्तो हुँदैछ, अहिले कस्तो छ भन्ने कुरा सार्वजनिक जिज्ञासाको विषय हो । तर, सिंगो नेपाल सरकारले देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे गत साताभरि कुनै सूचना सार्वजनिक गर्न आवश्यक ठानेन । अन्य मुलुकमा भएको भए हरेक दिन स्वास्थ्यसम्बन्धी विज्ञप्ति आउने थियो । एक सातासम्म पूरै देश सरकारविहीनजस्तो देखियो । प्रधानमन्त्री ओली देश बाहिर रहँदा मिडियाले पनि ‘हेडलाइन’ पाएनन् । प्रधानमन्त्री ओली काठमाडौँ रहँदा केही न केही ठट्टा गरेर भए पनि मिडियामा छाइरहन्थे । त्यसमाथि राजनीतिक सल्लाहकार पनि सिंगापुरमै थिए । सामाजिक सञ्जालमा ‘छौडा’ शब्द प्रयोग गरेर चर्चामा आएका ती राजनीतिक सल्लाहकारको प्रतिक्रिया पनि सामाजिक सञ्जालमा देखिएन । एक प्रकारले भन्ने हो भने, प्रधानमन्त्री ओली देश बाहिर रहँदा जनताले ‘शून्य’ महसुस गर्दोरहेछ । जे होस् प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरेर स्वदेश फर्किएका छन् । सबै ढुक्क छन् ।

शम्भु श्रेष्ठ

दोस्रो पटक प्रधानमन्त्रीको रुपमा ओलीले शपथ खाएको करिब १७ महिना बित्दैछ । यो १७ महिनाको समीक्षा पनि प्रधानमन्त्री ओलीले गरेका छन् । ओलीले जुन रफ्तारमा काम गर्न खोजेका थिए, त्यसअनुरुप काम नभएको पक्कै हो । अब पनि काम गर्न सकिएन भने सरकार नै निकम्मा हुनेछ त्यो पनि पक्का हो । यो १७ महिनामा काम नगर्ने मन्त्रीहरु, मुख्यसचिव, सचिव र विभागीय प्रमुखहरुमाथि कारवाही हुनुपर्ने हो । तर, त्यस्तो भएन । ‘असक्षम’ मन्त्रीहरुसँग प्रधानमन्त्रीले करार गरेर गल्ती गरेका छन् । सरकार चलाउने ओलीको यो करारनामालाई कतिपयले ‘राजाले काजीलाई, काजीले पाजीलाई….’ भनेर आलोचना गरेका छन् । हुन पनि प्रधानमन्त्रीले मन्त्रीसँग, मन्त्रीले सचिवसँग, सचिवले विभागीय प्रमुखहरुसँग करार गरेको खबर बाहिर आएको छ ।

दुईतिहाइको सरकार यस्तो लुते नहोस् भनेरै सरकार गठन भएदेखि हरेक मन्त्रीलाई ल्यापटप वितरण गरिएको थियो । सिंगो मन्त्रिपरिषद्लाई पेपरलेस बनाइएको थियो । हरेक मन्त्रालयको कामको गति जाँच्न ‘इन्फोग्राफ’सहितको डाटा जडान गरिएको थियो । भाषण गर्दा चिप्लिएला कि भनेर सार्वजनिक सभाहरुमा ‘टेलिप्रोमटर’को व्यवस्था मिलाइएको थियो । सात प्रदेशका मुख्यमन्त्रीसँग प्रत्यक्ष कुरा गर्न र राष्ट्रिय गौरवका आयोजना अनुगमन गर्न बालुवाटारमा ‘वाररुम’ स्थापना गरिएको थियो । यति धेरै प्रविधिद्वारा सुसज्जित हुँदा पनि देश विकासले गति लिन नसक्नु, राष्ट्रिय गौरवका आयोजना अलपत्र पर्नु र सुशासनमाथि भ्रष्टाचारले तातोपानी खन्याउनुको कारण के हो भन्ने कुरा प्रधानमन्त्री ओलीले खोज्नुपर्ने बेला आएको छ । प्रधानमन्त्री ओलीलाई उनका वरपर बस्नेहरुले कतिसम्म भ्रममा राखेका रहेछन् भन्ने कुरा काठमाडौंका सडकमा हिँड्ने बटुवाहरु ‘माक्स’बिना हिँडेको प्रधानमन्त्रीको कुराले पनि स्पष्ट पार्छ । काठमाडौँको सडकको धुँवा, धुलो ‘ब्रुमर’ले सफा गरेकाले काठमाडौँका जनता ‘माक्स’बिना हिँडेका होइनन् । ‘माक्स’ किन्ने पनि पैसा नभएर ‘माक्स’ बिना हिँड्न बाध्य भएका हुन् भनेर सत्य कुरा कसले बोलिदिने ?

जनताले दुईतिहाइ मत दिएर पनि सरकार असफल हुनुको पछाडि प्रधानमन्त्री, मन्त्री र सचिवहरु मात्र जिम्मेवार छैनन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार र विकासविज्ञहरु पनि उत्तिकै जिम्मेवार छन् । दिनहुँ प्रधानमन्त्रीलाई घेरेर बस्ने सल्लाहकारहरुले नै प्रधानमन्त्रीलाई सिसाको सोकेसमा बन्द गरेर राखेका छन् । त्यो भन्दा बढी जिम्मेवार चौविसै घण्टा ओलीलाई बालुवाटारमा घेरेर बस्ने दुई÷चार जना मन्त्रीहरु पनि उत्तिकै जिम्मेवार छन् । तिनीहरुले तथ्यांक देखाएर प्रधानमन्त्रीलाई अल्मल्याइरहेका छन् । प्रधानमन्त्री तिनीहरुको कुरा सुनेर दंग छन् । प्रधानमन्त्रीलाई साँघुरो घेरामा राखेर आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । सर्वोच्च नेता गणेशमान सिंहले भनेझै बालुवाटारमा ‘पुच्छरले कुकर हल्लाइरहेको अवस्था छ अहिले ।’

प्रतिक्रिया दिनुहोस्