Logo
Logo
कला

‘फूलेन्देको बाउलाई सुनेर चापेतीको आमा बनेँ’



काठमाडौं । कलाकारिता अँगाल्नु अगावै उनी सोसल मिडियामा ‘चापेतीको कुम्मा’का रुपमा चर्चित थिइन् । ‘चापेतीके कुम्मा’ अर्थात ‘चापेतीको आमा’ बनेर सोसल मिडिया छाएकी उनै पुष्पाञ्जली तिलिङ लिम्बूलाई अहिले मोडलिङमा भ्याइनभ्याई छ ।
कलाकारिताबाट चर्चा बटुल्छु भन्ने उनलाई लागेकै थिएन । जतिखेर गाउँघरमा नाचगान गर्दै हिँड्दा पुष्पाञ्जलीलाई लाग्थ्यो रे, ‘कलाकार तथा मोडल हुन राम्री हुनुपर्छ ।’ ‘चापेतीको आमा’ बनेर शोसल मिडियामा छाएसँगै उनलाई लाग्यो, ‘म पनि कलाकार बन्न सक्छु ।’

तेह्रथुमको लालीगुराँस गाउँपालिका, दाँगापाकी पुष्पाञ्जली भन्छिन्, ‘सोसल मिडियाले चापेतीको आमा र मोडलिङले पुष्पाञ्जली तिलिङ भनेर चिनायो ।’ ठेट ‘लिम्बू टोन’ मा कमेडी गरेर चर्चामा आएकी पुष्पाञ्जली छोटो समयमै आफूलाई कलाकारितामा स्थापित गर्न सफल भएकी छन् । चार दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी पुष्पाञ्जलीसँग एमपी सुब्बाको जम्काभेट :

तपाईंलाई सोसल मिडियाले जन्माएको कलाकार भन्न मिल्छ ?
जब सोसल मिडियामा चापेतीको आमा बनेर देखिएँ, तब म चिनिएकी हुँ । त्यसभन्दा अगाडि गाउँघरमै पनि नाचगान गर्थेँ । तर, चापेतीको आमा बनेर सोसल मिडियामा आएपछि मात्र कलाकारितालाई औपचारिक रुपमा अगाडि बढाएकी हुँ ।

‘चोपेतीको आमा’ बन्ने सोच कसरी आयो ?
एक समय अर्थात चार वर्ष अगाडि होला, त्यो समय ‘फुलेन्देको बाउ’ भनेर एउटा भ्वाइस भाइरल बनेको थियो । म्यासेन्जरहरु समेत त्यो भ्वाइस आउँथ्यो । भिडियो थिएन । लिम्बू भाषा र टोनमा कमेडी शैलीको उक्त भ्वाइस कसको भनेर सुरुमा थाहा थिएन । पछि मात्र थाहा भयो त्यो भ्वाइस चलचित्र निर्देशक मौसम इम्बुङको रहेछ । मेरो बोलीमा पनि लिम्बू टोन आउँछ । त्यसैले मेरो स्वरलाई म्याच गर्नेगरी गाउँघरको टेठ नाम र भाषाशैलीमा चापेतीको आमा बनेकी हुँ । र, अर्को पनि कारण छ । अहिलेका बच्चाहरू नेपाली र अंग्रेजीमात्र बोल्न थाले । गाउँघरकै बालबच्चाहरूले समेत आफ्नो भाषा बोल्न छाडे । त्यसैले पनि आफ्नो भाषा र शैलीलाई केही हद भएपनि जगेर्ना गर्न चापेतीको आमा बनेकी हुँ ।

तपाईंलाई कमेडियन कलाकार भनेरसमेत चिन्छन् । त्यो स्वीकार्नु हुन्छ ?
कमेडियन हुनलाई मानिसलाई हँसाउन सक्नुपर्छ । त्यो क्षमता मभित्र छैन जस्तो लाग्छ । तर, मेरो भाषाशैलीमा ‘लिम्बू टोन’ मिसिएको छ । जुन सुन्दाखेरि मानिसहरूलाई हाँस उठ्दोरहेछ । खासमा म एक कलाकार हुँ ।

कलाकार बन्ने सोच कसरी आयो ?
म कलाकार बन्छु भनेर सोचेकै थिइनँ । गाउँघरमा नाचगान गरेर हिँडेपनि अहिले जसरी कलाकार भएकी छु, यो मैले नसोचेको कुरा हो । म सोच्थेँ, कलाकार हुन राम्रो अनुहार र मिलेको जिउडाल हुनुपर्छ । मनमा त्यही कुरा भएकाले कलाकार बन्छु भनेर सोचिन । तर, जब क्याम्पस पढ्न धरान झरेँ, त्यसपछि साथीहरु ‘तिमी कलाकार बन, सुहाउँछ’ भन्ने थाले । त्यसपछि मात्र कलाकारिता गर्छु भनेर अगाडि बढेकी हुँ ।

गाउँघरमा धान नाच्नु हुन्थ्यो ?
खाशै धान नाच्न पाइनँ । किनकि, म जन्मेको समयमा धाननाचको जमाना नै गइसकेको थियो । मेरो बुबाको पालासम्म धाननाचको चलन थियो । बुबाले धान नाचेरै मेरी आमा ल्याउनु भएको रे । त्यसपछि म जन्मिएकी हुँ ।

गाउँघरमा हुँदा कस्तो नाचगान गर्नुहुन्थ्यो ?
हाम्रो क्लव थियो । अहिले पनि छ, ‘हेक्लाफूङ सामाजिक क्लव एकता परिवार’, जुन क्वलबाट दशैँं तिहारलगायतका चाडपर्वमा सांस्कृतिक कार्यक्रम गरेर पैसा संकलन गर्दथ्यौँ । जुन पैसा सामाजिक कार्यमा खर्च गर्दथ्यौँ । जस्तै, विवाह, भोज–भतियार जस्ता कार्यमा आवश्यक पर्ने थाल, बुटुकाहरु किन्थ्यौँ ।

तपाईंलाई पालाम गाउन आउँछ ?
अहिलेचाहिँ अलिअलि गाउन आउँछ । पालाममा धेरै अभिनय गरिसकेँ, त्यसैले पनि पालाम गाउन आउन थाल्यो । काम नै पालाममा बढी गर्ने हुँदा आजभोलि पालाम नसुनी त दिनयर्चा नै पो बित्दैन ।

अहिलेसम्म कति भिडियोमा काम गर्नुभयो ?
खै, गनेकै पो छैन । ६०/७० वटा पुग्यो होला । त्यसमा पनि मैले पालाममा बढी अभिनय गरेकी छु ।

अहिले मोडलिङमा व्यस्त हुनुहुन्छ तर, अझै चापेतीकै आमा भनेर चिन्छन् नि ?
चापेतीको आमा मेरो पहिलो परिचय हो । जुन परिचयले मोडलिङ क्षेत्रमा लाग्ने बाटो बन्यो । सोसल मिडियाले चापेतीको आमा र मोडलिङले पुष्पाञ्जलीका रुपमा चिनाएको छ । यी दुईटै पहिचान मेरो लागि बराबरी हो ।

आफ्नो कला, संस्कृतिमा रमाउन पाउँदा कस्तो लागिरहेको छ ?
खुसी छु । आफ्नो कला संस्कृति र रहन सहनमा आधारित गीतसंगीतमा काम गर्न पाउँदा गर्व लागेको छ । जो, जहाँ पुगेपनि आफ्नो कला संस्कृतिभन्दा ठूलो अरु केही छैन । त्यसैले पनि आफूलाई भाग्यमानी ठान्छु ।

फिल्ममा अफर आयो भने गर्नुहुन्छ ?
एक पटक आएको पनि हो । तर, त्यो बेला गरिनँ । तर, अबचाहिँ मलाई सुहाउँदो कथावस्तु र भूमिकामा अफर आयो भने गर्छु ।

तपाईंको भविष्यमा लक्ष्य केहो ?
लक्ष्य र योजना नबनाइ हिँड्ने मान्छे हुँ म । अहिले कलाकारितामा छु, लक्ष्य र सोचले कलाकार बनेकी होइन । क्याम्पस पढ्दै गर्दा नर्स बन्ने सोच थियो । तर, कलाकार भए । त्यसैले कलाकारितालाई नै अगाडि बढाउने छु । समय र परिस्थितिले कता डो¥याउँछ, त्यतैत्यतै जाने हो ।

प्रतिक्रिया दिनुहोस्