Logo

तराईमा यादव राजनीति


Published On : 13 August, 2019

रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

नेपालको समग्र राजनीति त्यसमा पनि तराई–मधेसको राजनीतिमा गोठाला (यादव)हरुले बर्चस्व नै कायम गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव हुनुबाट पनि यसको पुष्टि हुन्छ । तर पनि तिनै यादवहरु अधिकार नपाएको गुनासो गर्छन् । केन्द्रीय सरकारलाई समावेशिताको पाठ सिकाउँछन् । संविधानले मधेसी जनतालाई ठग्यो भनेर समाजमा भ्रम छर्छन् । छिमेकीको आडमा नाकाबन्दीलाई प्रोत्साहित गर्छन् । नागरिकता विधेयकका विषयमा बोल्दा तराई–मधेसका नागरिकलाई भन्दा आप्रवासीलाई महत्व दिन्छन् । त्यसै मुद्दालाई उठाएर सदन बहिष्कार गर्छन् ।

कतिसम्म भने आफूलाई समावेशिताको हिमायती ठान्नेहरुले तराईमा मधेसी, पहाडीको भ्रम फैलाएर पहाडबाट मधेस झरेका नागरिकमाथि अन्यायपूर्वक व्यवहार गर्छन् । राष्ट्रवादको नाराभित्र राष्ट्रद्रोहीको भावना बोक्छन् । हिजो ३० वर्षे पञ्चायती शासन हुँदा राजालाई जयजयकार गर्नेहरु आज आफैँ मालिक भइसक्दा पनि राजाको नाममा दास बनिरहेका छन् । मधेस आन्दोलनले स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने खालको अभिव्यक्ति दिन्छन् । जसले गर्दा तराईमा एउटा जातबाहेक अरु जातलाई लोकतन्त्र आएको छैन ।

त्यसो त नेपाल नै गाईको संरक्षणमा रहेको पनि किंवदन्ती छँदैछ । जस्तै नेवारी भाषामा गाईलाई ‘ने’ भनिन्छ । नेंपाल . नेपाल अर्थात्, नेपाल शब्दको नामाकरणमा पनि गाईगोठालाहरु (यादवहरुको) भूमिका छ । अर्को नेपालको प्राचीन शहर गोंरक्षा. गोरखा अर्थात् गाईको रक्षा गर्ने शहरको रुपमा पनि अथ्र्याइन्छ । अर्थात्, नेपालको इतिहास, संस्कृतिमा यादवहरुको महत्वपूर्ण भूमिका छ ।

वर्तमान मन्त्रिमण्डलमा पनि महत्वपूर्ण स्थान र मन्त्रालय पाएका छन् । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव । त्यस्तै चित्रलेखा यादव संसद्को सभामुख भइसकेकी छिन् । डा. डम्बरनारायण यादव, रेणु यादव, मृगेन्द्र यादव, रामचन्द्र यादव, महेन्द्रप्रसाद यादव, महेन्द्र राय यादव र रामचन्द्र राय (यादव) सांसद भइसकेका छन् । मृगेन्द्रसिंह यादव, महेन्द्रप्रसाद यादव, रामबचन यादव, सरोजकुमार यादव, रेणु यादव मन्त्री भएका छन् । ठाकुर, महतो थर पनि यादवभित्रै पर्दछ जस्तै महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र महतो ।

हाल नेपालको तराई–मधेसको २५–३० जिल्लाको जम्मा जनसंख्या लगभग १ करोड त्यसमध्ये यादवहरुको जनसंख्या लगभग पचास प्रतिशत अर्थात् ५० लाख छ । यहाँ तराई मधेसमा बस्ने यादव जातिहरुको विस्तृत व्याख्या गरिनुको उद्देश्य कसरी तराई–मधेसको बाँकी ५० प्रतिशत जनसंख्यामाथि आफ्नो दबदबा कायम राखेका छन् भनेर विश्लेषण गर्न खोजिएको हो ।

तराई–मधेसका जनता प्रश्न गर्छन्– के नेपालको तराई–मधेस यादवहरुको मात्रै पेवा हो ? के त्यहाँ आर्थिक सामाजिक रुपले पिछडिएका जात मण्डल, मुसहर, मुसलमान, खतवे, डोम, चमार छैनन् ? उनीहरु किन मुख्य धारको राजनीतिमा आउन सकिरहेका छैनन् ? किनभने ठूलो भनाउँदा जात (यादव, झा, साह, चौधरी) उनीहरुको आर्थिक, सामाजिक विकासमा विभिन्न अवरोधको सिर्जना गर्दछन् । जसले गर्दा सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा उनीहरुको दबदबा कायम रहिरहोस् ।

नेपालको संघीय सरकार तथा प्रदेश २ को सरकारले यस सामाजिक, आर्थिक र राजनीतिक थिचोमिचोविरुद्ध एक अभियान नै चलाउनु पर्दछ । ताकि उनीहरुले आफ्नो जातबाहेकका लागि पनि सम्मान गर्न सकोस् । यो भावनाले अगाडि बढ्न सकियो भने तराई–मधेसमा समृद्धि ल्याउन सकिन्छ । होइन भने तराई–मधेसभित्र पनि एनजीओ, आईएनजीओले जातीय आगो झोस्न सक्छ । ताकि नेपाल सधैँ आन्तरिक द्वन्द्वमा फसोस् ।

[email protected]

प्रतिक्रिया दिनुहोस्