काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू ‘सखर’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र ‘गोबर’ भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा बाबुराम र रविन्द्र मिश्र उस्तै हुन् भन्ने कुरा उठिरहेको भन्दै उनले पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरे । उनले केही वर्षयता आफ्नो पार्टीको नाम फेरिएपनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरे ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु सखर र गोबरझैं भएको टिप्पणी गरे ।
उनले भने, ‘आज सामाजिक सञ्जालमा देखें- आखिर वैकल्पिक भन्नेहरुको पनि स्पष्टता थिएन, रविन्द्र मिश्र राजावादीतिर गए, बाबुराम पनि पछि फर्कियो भन्नेछ । गुड (सखर) र गोबर हेर्दा त उस्तैउस्तै हुन्छ, तर कति गहिराईमा गएर हिँडेको छ भन्ने कुरा हो । त्यसको आधारभूत कुरा केही पनि मिल्दैन ।’
नेपाल जस्तो बहुजातीय, बहुभाषिक मुलुकमा संघीय संरचना जात, भाषाअनुसार पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताए। नेपालको शासकीय निर्वाचन प्रणाली खिचडी जस्तो भएको उनको भनाइ छ ।












