Logo
Logo

ज्वरो आउँदा विमारी भएको हल्ला चल्यो : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वस्थ्य भएको बताएका छन् । शुक्रबार बालुवाटारस्थित आफ्नो निवासमा गृहजिल्ला झापाका जनप्रतिनिधि तथा पार्टी कार्यकर्तासँगको भेटमा यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘म तन्दुरुस्त छु , ज्वरो आउँदा बाहिर विमारी भएको हल्ला चल्यो ।’
बिहीबार निर्धारित समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएपछि प्रधानमन्त्री ओली अस्वस्थ्य भएको खबर बाहिर आएको थियो । गत सोमबार मात्र सिंगापुरमा स्वास्थ्य जाँच गरेर फर्किएका प्रधानमन्त्री ओलीले भने, ‘तर, म बाहिर हल्ला चलेजस्तो, समाचारमा आएजस्तो विमारी छैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो निवासमा झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग भेटघाट गरेका थिए । झापाली कार्यकर्तालाई उनले ताजगी मुद्रामा सोधेका थिए, ‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ?’ उनले ती कार्यकर्तालाई आफू स्वास्थ्य रहेको तर बाहिर बढी प्रचार भएको बताएको उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए ।
सिंगापुरमा प्रधानमन्त्रीको आँखा, कान र बुढी औंलादेखि कान्छी औंलाको नङसम्म परीक्षण गरेर आएको भन्दै उनले आफू ठीक रहेको बताए । प्रधानमन्त्री ओली अस्वस्थ्य भएपछि आज शुक्रबार बस्ने भनिएको सचिवालय बैठकससमेत सर्ने आशंका गरिएको थियो । तर, उनी बैठकमा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्