Logo
Logo
कला

‘डान्सलाई करिअरका रुपमा लिएकी छु’



उमेर सानै छ । तर, उनी डान्सरका रुपमा चर्चित छिन् । बनेपा रातेमाटेकी रुपा लामा भर्खरै २१औँ वर्षमा लागेकी उनको सपना र लक्ष्य बढेमान छ । करिब ७ वर्षयता डान्सिङ र मोडलिङमा सक्रिय रुपा भन्छिन्, ‘कुसल डान्स कोरियोग्राफर बन्ने मेरो लक्ष्य हो ।’ रातमाटेमै बसेर डान्स र मोडलिङलाई करिअर बनाउन लागिपरेकी रुपाले आफ्नै घरमा ‘रिमिक्स डान्स स्टुडियो’ सञ्चालन गरेकी छिन् । दर्जनाँै गीतमा डान्स तथा अभिनय गरिसकेकी रुपा भन्छिन्, ‘म फुलटाइमर डान्सर हुँ ।’ स्नातक दोस्रो वर्षमा अध्ययनरत डान्सर तथा मोडल रुपा लामासँग दृष्टिको जम्काभेट :

तपाईँ डान्सर कि कोरियोग्राफर ?
म डान्सर र कोरियोग्राफर दुईटै हुँ । डान्स पनि गर्छु । र, विभिन्न कार्यक्रम र म्युजिक भिडियोमा कोरियोग्राफी पनि गर्दै आएकी छु ।

कहिलेदेखि यो क्षेत्रमा लाग्नुभयो ?
सानैदेखि डान्स गर्थेँ । तर, व्यवसायिक रुपमा डान्स गर्न थालेको सात वर्ष भयो । एसएलसी सकेपछि डान्सिङ क्षेत्रमा लागेकी हुँ ।

डान्सर बन्ने सोच कसरी आयो ?
सानैदेखि डान्स गर्न मलाई खुबै मनपर्दथ्यो । स्कुलमा हुने हरेक कार्यक्रममा नाच्थेँ । डान्स प्रतियोगिताहरूमा सहभागी जनाउँथेँ । डान्स मेरो पहिलो रुचीको विषय हो । त्यसैले यो क्षेत्र रोजेकी हुँ ।

तपाईँले डान्स कहाँ सिक्नुभयो ?
सुरुमा मैले डान्स सिकेको थिइनँ । तर, पछि नलेज बढाउँ भनेर बनेपामा सिकेँ । त्यसपछि काठमाडौंमा पनि विभिन्न डान्स वर्कशप र ब्याटलहरू गरेँ । मलाई डान्समा अझै बढी नलेज लिनुछ । त्यसैले भारतमा गएर डान्सको नलेज लिने सोच बनाएकी छु ।

तपाईँ मोडलिङ र कोरियोग्राफी पनि गर्नुहुन्छ ?
गर्छु । खासगरी म फ्रिस्टाइल डान्स गर्छु । त्यसैले मैले मोडलिङ गरेका भिडियोहरू पनि त्यस्तै छन् । अहिलेचाहिँ झ्याउरे, ठेट नेपाली डान्स पनि गर्छु । तैपनि मेरो विशेषता भनेको चाहिँ फ्रिस्टाइल नै हो ।

बनेपामै बसेर मोडलिङमा काम पाइन्छ ?
काम पर्दा काठमाडौं जाने गरेकी छु । अरुबेला बनेपामै बस्छु । हिजोआज त गाउँमै पनि कार्यक्रमहरू भइरहेका हुन्छन । म्युजिक भिडियोहरू पनि गाउँमै बन्न थालेका छन् । मलाई गाउँमै बसेर पनि कामको खाँचो भएको छैन । त्यसमाथि मेरो घरमै आफ्नै डान्स स्टुडियो छ । साथै मैले एउटा स्कुलमा पनि डान्स सिकाउँछु ।

डान्सलाई करिअरका रुपमा लिन सकिन्छ त ?
सबैभन्दा ठूलो कुरा आफ्नो रुची हो । आफूले इच्छाए र मिहिनेत गर्न सक्यो भने डान्सलाई करिअर बनाउन अवश्य सकिन्छ । तर, बेलाबेला काम गरेको पारिश्रमिक नपाउँदाचाहिँ निराश हुनुपर्ने अवस्था विद्यमान छ ।

काम गरेर पारिश्रमिक नपाएको अवस्था पनि भोग्नुभएको छ ?
धेरै नै छन् । काम गरेपछि कतिपयले पारिश्रमिक दिन आनाकानी गर्छन् । सुरु सुरुमा चाहिँ फ्रिमा पनि काम गर्थे । तर, अहिले डान्सिङ र मोडलिङलाई व्यवसायिक रुपमा अँगालेकी छु । त्यसैले पारिश्रमिकविना काम गर्दिनँ ।

फिल्मका काम गर्ने सोच छैन ?
फिल्ममा काम गर्ने सोच त छ, तर, मेरो लागि फिल्म टाडाको कुरा हो । किनकि, मेरो हाइट नै छैन । मलाई फिल्ममा रुची पनि छ । यदि मलाई सुहाउँदो रोल पाएँ भने काम गर्छु ।

अहिलेसम्म फिल्ममा हिरोइनका लागि अफर आएको छैन ?
छैन । तर, म्युजिक भिडियोहरूमा भने अफर आइरहेको छ । काम पनि गर्दै आएकी छु । अहिलेसम्म सुटिङका लागि टाडा गएकी छैन । बनेपा र काठमाडौ आसपास मात्र गएकी छु । पछिल्लो समय समाचारहरू पनि त्यस्तै आइरहेको छ । त्यसैले घरबाट छोरी मान्छे टाडा नजाउ भनेपछि गएकी छैन ।

घरबाट सर्पोट छैन हो ?
पहिलेभन्दा छ । घर परिवारको सपोर्टकै कारण यो स्थानमा छु । तैपनि अहिलेसम्म सुटिङका लागि टाडा जाने गरेकी छैन ।

डान्सिङ र मोडलिङबाहेक के गर्नुहुन्छ ?
फूलटाइमर डान्स नै हो । स्कुलमा पनि डान्स सिकाउने भएको डान्समै व्यस्त भइरहेको हुन्छु । त्यसबाहेक फुर्सदमा घरको काम गर्छु ।

यो क्षेत्रमा लागेर पढाइमा असर गरेको छैन ?
छैन । मैले पढाइलाई पनि निरन्तर अगाडि बढाइरहेकी छु । म अहिले बीए दोस्रो वर्षमा अध्ययनरत छु ।

तपाईँले रोज्नुभएको डान्सिङ क्षेत्र कस्तो लागिरहेको छ ?
इन्जोय भइरहेको छ । डान्स मेरो सानैदेखिको इच्छा र रुची हो । आफ्नो इच्छामा रमाउन पाउँदा खुसी छु ।

प्रतिक्रिया दिनुहोस्