Logo
Logo

म बाहिरी प्रोडक्सनमा पनि काम गर्न तयार छु- अदिति



काठमाडौं । मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै छन् ।

नेपाली चलचित्र ‘कृ’ मार्फत अभिनयमा डेब्यु गरेका अदिति अभिनित दोस्रो फिल्म ‘बाबरी’ प्रदर्शनरत छ । भारतीय म्युजिक भिडियोमा अभिनय गरिसकेका अदितिले धेरै नेपाली फिल्मको अफर स्वीकार गरेनन् ।

‘म हतारमा फिल्म गर्ने सोचमा थिइनँ । कोरोना महामारीका कारण पनि ‘प्रोजेक्ट’ ढिला भएको हो । सुहाउँदो भूमिका आएमा काम गर्नेछु’, उनले भने ।

उनले नेपालबाटै मोडलिङको सुरुआत गरेर भारतस्थित मुम्बईमा काम गरिरहेका छन् । नेपालमा एक विज्ञापनमा काम गरेपछि अदितिलाई मुम्बईबाट ‘मायालु नुडल्स’ मा मोडलिङ गर्ने प्रस्ताव आएको थियो ।

त्यसयता उनी मुम्बईमै मोडलिङ गरिरहेका छन् । ‘मैले मुम्बई वा नेपाल भनेर काम गरिरहेकी छैन । जहाँ मलाई प्रस्ताव गरिन्छ, बुझेर काम गर्ने गरेकी छु’, उनले भने ।

यहाँको ‘वर्किङ कल्चर’ले उनलाई समस्या पार्ने रहेछ । उनी भन्छन्– ‘हामीकहाँ अझै व्यावसायिकता कम छ । काम पूरा नगर्न बहाना बनाउन पाइन्छ । त्यसले ‘सेड्युल’लाई असर गर्छ’, अभिनेत्री बुढाथोकीले भने ।

काममा पूर्णरूपमा समर्पित भएर नलागेसम्म त्यसले गतिलो नतिजा नदिने उनको बुझाइ छ । उनले डेब्यु फिल्ममा छायाङ्कनका लागि पटकपटक नेपाल आउँदा काम नभएपछि फर्किनुपरेको थियो ।

यही कारण पनि दोस्रो फिल्म उनले होम प्रोडक्सनकै गरेका छन् । ‘म बाहिरी प्रोडक्सनमा पनि काम गर्न तयार छु । दुई फिल्मले मलाई वर्किङ कल्चर बुझाइरहेको छ’, अभिनेत्री बुढाथोकीले भने ।

प्रतिक्रिया दिनुहोस्