Logo
Logo

रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शन (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता



चितवन, ३२ साउन । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै चितवनमा प्रदर्शन भइरहेको छ । शनिबार बिहानैदेखि उत्रिएका प्रदर्शनकारी चितवन प्रहरीको भ्यानमा तोडफोड गरेका छन् ।
प्रदर्शनकारीले हानेको ढुंगाले प्रहरीको भ्यानको अगाडिको शिसा फुटेको छ । प्रदर्शकारीलाई तितरवितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै लाठी प्रहार गरेको छ ।


पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा ‘सिधा कुरा जनतासँग’ का कार्यक्रम प्रस्ताता रवि लामिछानेलगायत तीन जनाई बिहीबार काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई शुक्रबार जिल्ला अदालत चितवनमा पेस गरिएको थियो ।
जिल्ला अदालत चितवनले रवि लामिछानेसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको छ । पक्राउ पर्नेमा रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की रहेका छन् ।


पत्रकार पुडासैनी २० साउनमा चितवनस्थित एक होटलमा मृत भेटिएका थिए । नुवाकोटका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै रवि लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रवि लामिछाने पक्राउ परेसँगै उनलाई रिहा गर्न माग गर्दै चितवनमा प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्