Logo
Logo

‘अस्पतालको सुरक्षामा प्रहरी जहिले चनाखो’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३२ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीर रहेको बताएका छन् ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र कुलेश्वरको आयोजना तथा नेपाल नेशनल अस्पताल कलंकीको सहकार्यमा शनिबार आयोजित ‘अस्पताल सुरक्षासम्बन्धि छलफल तथा अन्तक्र्रिया’मा उनले अस्पतालको सुरक्षाका लागि प्रहरी जहिले चनाखो रहेको बताए ।
अस्पतालमा हुने घटनापश्चात् भित्रभित्रै पैसा दिएर समस्या सल्टाउने समस्याका कारण अस्पताललाई थप चुनौती थपिएको उनको भनाइ थियो । परिसर प्रमुख सुवेदीले अस्पतालमा घट्न सक्ने सम्भावित घटनालाई विज्ञ टोली बनाएर समाधान गर्नतर्फ अस्पताल प्रशाासन लाग्नुपर्ने बताए ।
काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले अस्पतालजस्तो पवित्र स्थानलाई कमाई खाने भाँडो नबनाई सामाजिक सेवाको भावले जनताको सेवा गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताए ।
नेपाल नेशनल अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडेलले अस्पतालमा हुने सुरक्षा चुनौतीलाई कम गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्