Logo
Logo

प्रचण्डको पावरले जित्ला या विद्रोहीको सम्मान होला ?



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुट्न नसक्नुको एउटा कारण एक मात्र संघीय निर्वाचन क्षेत्र भएको ‘सल्यान’ हो ।

सल्यान, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दुबै दलले बलियो दाबी गरेको क्षेत्र हो । किनकी, दुबै पार्टीका बलिया दाबेदार छन्, सल्यानमा ।

उपमहासचिव प्रकाश ज्वाला एकीकृत समाजवादीका बलिया दाबेदार हुन् । त्यसैगरी माओवादीका केन्द्रीय सदस्य रमेश मल्ल बलियो दाबेदार छन् । 

पार्टीकै उपमहासचिव भएका कारण प्रकाशले टिकट पाउनु र जित्नु एकीकृत समाजवादीका लागि प्रतिष्ठाको विषय हुने नै भयो । रमेश पनि माओवादीका लागि कम प्रतिष्ठाका नेता होइनन् । त्यसमा पनि सल्यानमा माओवादीको राम्रै छ ।

माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई नेतृत्व गरिसकेका युवा नेता रमेश हाल पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव छन् । त्यसैले पनि माओवादीले सल्यान पाउनै पर्ने बलियो दाबी गर्दै आएको छ ।

वर्तमान गठबन्धन निर्माण र एमाले विभाजनमा प्रकाश लगायत कर्णाली प्रदेश सभा सदस्यहरूले गरेको विद्रोहको राम्रै प्रशंसा हुने गरेको छ । उक्त विद्रोहको सम्मानका लागि भए पनि आफ्नो पार्टीले सल्यान पाउनुपर्ने एकीकृत समाजवादीले भन्दै आएको छ ।

विद्रोहको सम्मान गर्नुपर्छ भन्नेमा माओवादी पनि सहमत देखिन्छ । तर, प्रकाशलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउनुभन्दा प्रदेशसभा सदस्य बनाएर मुख्यमन्त्री बनाउनु उचित हुने माओवादीको धारणा रहँदै आएको छ ।

गठबन्धनबीच सिट बाँडफाँटका लागि छलफल जारी नै छ । यतिबेला सल्यान कसले पाउँछ भन्ने आम चासोको विषय बनेको छ । सल्यान माओवादी वा एकीकृत समाजवादीले पाउने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्