Logo
Logo

निर्णायक छलफलमा जुटेको गठबन्धनले आजै सहमति गर्ने सम्भावना न्यून



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँच दलीय गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँटबारे निर्णायक छलफल चलिरहेको छ ।

सिट बाँडफाँटका लागि गठित कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनलाई अन्तिम रूप दिएर टुङ्ग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहानैदेखि निर्णायक छलफल जारी छ ।

निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रूप दिन निर्णायक वार्ता भइरहेको कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिए । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ । यसका लागि अब दुई दिनमात्र बाँकी रहेकाले पनि आजै बाँडफाँट टुङ्ग्याउन लागिएको जोशीले जानकारी दिए ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागि छन् । 

तर, बैठक चलिरहेकै बेला गठबन्धमा आवद्ध जसपाका अध्यक्ष उपेन्द्र यादव भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि गठबन्धनका लागि अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।

जसपाले वर्तमान गठबन्धनबाट अपेक्षित सिट पाउन नसके एमाले वा अन्य राजनीतिक दलसँग पनि गठबन्धन वा तालमेल गर्न सकिने निर्णय गरिसकेको छ ।

के आजै सहमति होला ?
गठबन्धनमा आवद्ध दलहरू आजै सहमति गर्ने गरी छलफलमा जुटे पनि आज नै सहमति होला भन्ने अवस्था नरहेको एक नेताले बताए ।

ति नेताका अनुसार गठबन्धन आवद्ध दलहरूको दाबी यथावत छ । दाबी नै यथावत रहेको अवस्थामा सिट बाँडफाँट टुङ्गो लाग्ने अवस्था छैन ।

गठबन्धनमा आवद्ध जसपाले अपेक्षाकृत सिट नपाए अन्य दलसँग गठबन्धन वा तालमेल गर्ने निर्णय गरिसकेकाले पनि सत्तारुढ गठबन्धन थप अन्योलमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्