Logo
Logo

बंगलादेशमा भिषण आगलागी, २ हजार घर खरानी


- दृष्टि न्युज/संवाददाता


ढाका, १ भदौ (एजेन्सी) । बंगलादेशको राजधानी ढाकास्थित एक सुकुम्बासी बस्तीमा शुक्रबार राति भएको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् । उक्त आगलागीबाट दुई हजारभन्द्या बढी घर खरानी भएको अग्नि नियन्त्रण विभागका एर्शाद हुसेनले बताए ।

बस्तीभित्र चिया पसल चलाउँदै आएका ५८ वर्षीय अब्दुल हमिदले आफूले एउटा सामान पनि बाहिर निकाल्न नपाएको गुनासो गरेका छन् । अग्निनियन्त्रकहरुले लामो प्रयासपछि आगो नियन्त्रणमा ल्याएका थिए । उक्त आगलागीमा कसैको मृत्यु नभएपनि थुप्रै मानिस घाइते भएको बताइएको छ ।
समाचाहरुमा जनाइएअनुसार उक्त बस्तीमा सामान्यतया न्यून आय भएका तयारी पोशाक उद्योगमा काम गर्ने मजदूरहरु बसेका थिए । स्थानीय प्रहरी प्रमुख गुलाम रब्बानीले बस्ती खाली नभएको भए ठूलै मानवीय क्षति हुने सम्भावना रहेको बताए ।
आगलागीपछि केही परिवारले भने मनसुनी वर्षाबाट जोगिन पाल टाँगेर बसेका छन्, तर भुइँमा चिस्यान बढी भएकाले जमिन पूरै हिलाम्मे भएको छ । सन् २०१२ मा ढाका नजिकको नौ तले गार्मेन्ट कारखानामा भएको भिषण आगलागीमा परेर १११ जना कामदारको मृत्यु भएको थियो । उक्त घटनापश्चात् गठित छानबिन समितिले कारखाना व्यवस्थापनको चरम लापरबाहीका कारण मजदूरहरुको ज्यान गएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्